म्याग्दी । तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ । मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बनेका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ । विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उनले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । सुरुमा सानो क्षेत्रफलबाट थालिएको खेती विस्तार गर्दै उनले अहिले हराभरा कृषि फार्म सञ्चालन गरेका छन् । “खेतीपातीको काम र विकास निर्माणका योजनामा मजदुरी गरेर जीविकोपार्जन गर्न कठिन भएपछि तरकारी खेती सुरु गरेको हुँ,” उनले भने, “तरकारीखेतीले ज्याला मजदुरी गर्नुपर्ने र ऋण खोज्नुपर्ने बाध्यता हटाएको छ । आर्थिक अवस्था सुधार हुनुका साथै अरूलाई रोजगारी दिन सकेको छु ।” बानियाँले अहिले साढे दुई रोपनी जमिनमा तरकारीखेती र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन रोपनीमा केराखेती गरेका छन् । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालन गरेका छन् । उनले सञ्चालन गरेको हराभरा कृषि तथा पशुपन्छी फार्मबाट वार्षिक रु १२ देखि १५ लाखसम्मको कारोबार हुने गरेको छ । फार्ममा तीनवटा स्थायी प्रकृतिका प्लास्टिक घर निर्माण गरेका छन् । त्यहाँ सिमी, साग, बन्दा, काउली, गोलभेँडा, ब्रोकाउली र घिरौँलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुन्छ । हिउँदयाममा प्याज, बन्दा र काउलीका बिरुवा उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । उत्पादित तरकारी बेनी बजार र सिंगाको तातोपानी क्षेत्रमा बिक्री हुन्छ । पछिल्लो समय फोनबाटै कारोबार गर्न सहज भएको छ । व्यापारीलाई तरकारी पठाउने गरेका छन् । व्यापारीले बैंक खातामै रकम जम्मा गरिदिने भएपछि बजारसम्म पुग्नुपर्ने समय र खर्च बचत भएको उनको अनुभव छ । “तरकारीखेती सुरु गरेपछि घरमा पैसाको अभाव भएको छैन । छोराछोरी पढाउन र घरखर्च चलाउन सहज भएको छ,” उनले भने, “विदेशको कमाइ भेलबाढीजस्तै हो । आफ्नै ठाउँमा गरेको उद्यमबाट हुने आम्दानी थोरै भए पनि दिगो र स्थायी हुन्छ ।” बानियाँ माहुरीपालन विस्तार गर्ने तयारीमा छन् । कृषि कर्मबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछन् । कृषि विकास कार्यालयलगायत विभिन्न निकायबाट उनी पुरस्कृतसमेत भएका छन् । सिंगा क्षेत्र ताजा तरकारी तथा फलफूलखेतीको पकेट क्षेत्र भएकाले किसानलाई कृषि उपकरण र सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । “विदेश नगई आफ्नै ठाउँमा सम्भावना खोजेर सफल हुनुभएका तेजबहादुर व्यावसायिक किसानका लागि उदाहरण हुनुहुन्छ,” उनले भने, “उहाँको सङ्घर्ष, पेसाप्रतिको लगाव, निरन्तरता र इमान्दारिताबाट अरूले पनि प्रेरणा लिन सक्छन् ।”
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






