अमेरिका । नेपाली चलचित्रलाई विदेशमा रहेका नेपाली दर्शकमाझ पुर्याउने उद्देश्यसहित नेपाली चलचित्र ‘प्रेम अध्याय’ को अमेरिकाको टेक्ससस्थित ड्यालसमा विशेष प्रदर्शन गरिएको छ । नोभेम्बर १५ (आइतबार) इर्भिङ मलस्थित एएमसी थिएटरको अडिटोरियममा आयोजित विशेष प्रदर्शनमा चलचित्रका कलाकार सरोज खनाल र रामशरण चौधरीको उपस्थिति रहेको थियो । प्रेम र सम्बन्धका भावनात्मक पक्षसँगै एक्सनलाई समेत समेटिएको चलचित्रले दर्शकमाझ फरक स्वाद प्रस्तुत गरेको छ । विशेष प्रदर्शनपछि दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ । चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा रामशरण चौधरी र ऋचा थापा मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूसँगै सरोज खनाल, मुकुन्द श्रेष्ठलगायतका कलाकारको अभिनय छ । किशोर चौधरीको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रका निर्माता किरण चौधरी हुनुहुन्छ । चलचित्रको छायांकन विष्णु परियारले गनुभएको छ भने निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हाल्नुभएको छ । विदेशमा रहेका नेपाली दर्शकमाझ चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष प्रदर्शन आयोजना गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘प्रेम अध्याय’ छिट्टै नेपालमा समेत प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
ड्यालसमा ‘प्रेम अध्याय’को विशेष प्रदर्शन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






