काठमाडौं । नेपाल राष्ट्र बैंकले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा तत्काल १२४७ हटलाइन नम्बरमा सम्पर्क गरी उजुरी गर्न आग्रह गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी गुनासो र उजुरी सम्बोधन गर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा २४सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको जनाएको छ । उक्त केन्द्रमार्फत् अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीका घटनाबारे १२४७ नम्बरमा सम्पर्क गरी उजुरी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । साथै ठगीमा परेमा ढिलाइ नगरी उक्त हटलाइनमा सम्पर्क गर्न र प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध पनि गरेको छ । ठगीको घटना भएमा आफ्नो बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
डिजिटल वित्तीय ठगीमा परे १२४७ मा उजुरी गर्न सकिने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






