काठमाडौं । जङ्गली हात्तीबाट पाकेको धानबाली जोगाउन झापाको बाहुनडाँगीमा स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि आफैँ खेतमा उत्रिएर धान काट्न जुटेका छन्। हात्तीको निरन्तर आवागमनले पाकेको धानबाली नष्ट हुने जोखिम बढेपछि सबै पक्ष मिलेर किसानको बाली भित्र्याउन सहयोग गरेका हुन्। मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित क्षेत्र तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो। सुरक्षाकर्मी आफैँ खेतमा पुगेर धान काट्न सहयोग गरेपछि किसानसमेत उत्साहित भएका छन्। सहयोगप्रति खुसी व्यक्त गर्दै किसानले खेतबारीमै खादा पहिर्याएर प्रहरीलाई सम्मानसमेत गरेका छन्। यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धान समयमै भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिलाइ नगर्न आग्रह गरेका थिए। प्रशासनको निर्देशन र किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काट्ने अभियान सञ्चालन गरिएको हो। मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको बालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा धान भित्र्याउने कामलाई तीव्रता दिइएको हो। वडाध्यक्ष कार्कीले हात्तीको जोखिमका कारण किसानलाई पाकेको बाली भित्र्याउन समस्या भइरहेको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि मिलेर अभियान सञ्चालन गरिएको बताए। किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। धान काट्ने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले सँगै काम गरेका थिए। यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो। अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए। किसानको मागपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षाकर्मी परिचालन गरी स्थानीय समुदायसँग समन्वय गरेर हात्तीको प्रवेश नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए। प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ।
झापामा किसानको सारथी बने प्रहरी, खेतमा पुगेर काटे धान

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






