Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

जंगलदेखि गोठसम्मका पहरेदार : भेडीगोठको सुरक्षामा कुकुरको भर

Share:WhatsAppFacebookX (Twitter)Telegram
जंगलदेखि गोठसम्मका पहरेदार : भेडीगोठको सुरक्षामा कुकुरको भर
Photo / Coverage: हिमालय टाइम्स

म्याग्दी । हिमाली भेगको चिसो मौसम, एकान्त जंगल र वन्यजन्तुको त्रास । यस्तो चुनौतीपूर्ण वातावरणमा महिनौँसम्म भेडाबाख्रा चराएर जीविकोपार्जन गर्ने गोठालाका लागि सबैभन्दा विश्वासिलो साथी बनेका छन् —कुकुर । मानिसको आवाज र गतिविधिभन्दा धेरै टाढासम्मको चाल थाहा पाउने कुकुरले वन्यजन्तुको सम्भावित आक्रमणबाट भेडीगोठ जोगाउँदै आएका छन् । म्याग्दीका लेकाली वन र खर्कमा रहेका भेडीगोठमा कुकुर केवल घरपालुवा जनावरका रूपमा सीमित छैनन् । उनीहरू गोठका रक्षक, गोठालाका सहयात्री र सयौँ भेडाबाख्राको सुरक्षाका लागि अहोरात्र खटिने पहरेदार हुन् । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टेकबहादुर तिलिजाले वर्षौँदेखि यही अनुभव सँगाल्दै आउनुभएको छ । उहाँहरूले जंगलको बीचमा रहेका भेडीगोठ र पशुधनको सुरक्षाका लागि कुकुर पाल्दै आउनुभएको हो । छन्त्यालको गोठमा करिब १० वर्षदेखि छ वटा कुकुरले पहरेदारी गरिरहेका छन् । उहाँको गोठमा रहेका करिब छ सय भेडाबाख्रालाई जंगलमा चराउँदा बाघ, भालु, चितुवा र स्यालजस्ता वन्यजन्तुको जोखिम सधैँ रहन्छ । यस्तो अवस्थामा कुकुरले वन्यजन्तुको चाल पहिल्यै थाहा पाएर भुकेर गोठाला र पशुधनलाई सतर्क गराउने गरेका छन् । ‘कुकुर साथमा भएपछि जंगलको बीचमा रहेको गोठमा हामी रातभर ढुक्कसँग सुत्न पाउँछौँ। भेडाबाख्रा पनि सुरक्षित हुन्छन्,’ छन्त्यालले भन्नुभयो, ‘बिहान कुकुरलाई खाना दिएपछि उनीहरू दिनभर भेडाबाख्रासँगै जंगल जान्छन् र साँझ पशुसँगै गोठ फर्किन्छन् ।’भेडाबाख्रा चराउन खर्कसम्म पुग्नुपर्ने र गोठ जंगलको बीचमा हुने भएकाले गोठालाले एक्लै सबै क्षेत्रको निगरानी गर्न सम्भव हुँदैन । त्यसैले कुकुरको साथ उनीहरूका लागि अनिवार्यजस्तै बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ६९ वर्षीय टेकबहादुर तिलिजाको अनुभव पनि उस्तै छ । करिब ५० वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएका उहाँ महिनौँसम्म लेकाली खर्क र घना जंगलमा एक्लै बस्नुहुन्छ । उहाँको जीवनशैलीमा कुकुर अभिन्न साथी बनेका छन् । तिलिजाले करिब तीन सय भेडाबाख्रा पाल्दै आउनुभएको छ । तिनको सुरक्षाका लागि उहाँले दुई वटा भोटे कुकुर पाल्नुभएको छ । झरी, बादल, हिउँद वा वर्षा जस्तोसुकै मौसममा पनि गोठमै बस्नुपर्ने बाध्यताबीच कुकुरले आफू र आफ्नो पशुधनको सुरक्षा गरिरहेको उहाँको भनाइ छ । ‘झरी, बादल, हिउँद, वर्षा जे भए पनि एक्लै गोठमा बस्नुपर्छ,’ तिलिजाले भन्नुभयो, ‘दिनरात साथमा रहने कुकुरले मलाई र भेडाबाख्रालाई जंगली जनावरको आक्रमणबाट जोगाउँछन् ।’ उहाँका अनुसार भेडाबाख्रा जंगलमा चरिरहेका बेला कुकुरले वरपरको गतिविधि निगरानी गर्छन्। अपरिचित मानिस वा वन्यजन्तुको चाल थाहा पाएपछि भुकेर संकेत दिन्छन् । आवश्यक परे आक्रमणको प्रतिकार गर्नसमेत पछि हट्दैनन् । पाउद्वारकै कमल तिलिजाले पनि जंगल र हिमाली खर्कमा चराउन लगिने भेडाबाख्राको सुरक्षाका लागि दुई वटा कुकुर पाल्नुभएको छ । उहाँका कुकुरले गोठ वरपर निगरानी गर्ने र सम्भावित खतरा देखिएपछि गोठाला तथा पशुधनलाई सचेत गराउने काम गर्छन् । उहाँका अनुसार कुकुरको उपस्थिति भएपछि वन्यजन्तु र चोरबाट हुन सक्ने जोखिमबारे समयमै जानकारी पाइन्छ । भेडाबाख्राको हुललाई सुरक्षित राख्न कुकुरले प्रभावकारी भूमिका खेलिरहेका छन् । म्याग्दीका अधिकांश व्यावसायिक भेडापालक किसानका लागि कुकुर अब अतिरिक्त सुविधा होइन, पशुधन सुरक्षाको आधार बनेका छन् । विशेषगरी बस्तीबाट टाढा रहेका घना जंगल र खर्कमा भेडाबाख्रा चराउँदा चितुवा, भालु तथा अन्य वन्यजन्तुको आक्रमणको जोखिम उच्च हुन्छ। यस्तो अवस्थामा कुकुरको सुँघ्ने र सुन्ने क्षमता गोठालाका लागि महत्वपूर्ण सहयोगी बनेको छ । मानिसले वन्यजन्तुको उपस्थिति थाहा पाउनुअघि नै कुकुरले त्यसको चाल पहिल्याउने भएकाले गोठालालाई सतर्क हुन पर्याप्त समय मिल्ने गरेको छ । कुकुरकै कारण गोठको दैनिक काम सहज र सुरक्षित बनेको किसानहरूको अनुभव छ । पशुधनको सुरक्षा गर्न मानिस मात्रै परिचालन गर्दा खर्च बढ्ने र जंगलमा हुने सम्भावित आक्रमणबाट सधैँ जोगाउन नसकिने भेडापालक किसान धनबहादुर विक बताउनुहुन्छ ।उहाँका अनुसार भेडीगोठमा कुकुर पाल्नु व्यावसायिक भेडापालनको महत्वपूर्ण आवश्यकता हो । एउटा कुकुरको मूल्य ३० हजारदेखि ६० हजार रुपैयाँसम्म पर्ने गरेको किसानहरू बताउँछन् । कुकुरसँग जोडिएको मानव सभ्यताको पुरानो सम्बन्ध कुकुर र मानिसबीचको सम्बन्ध आधुनिक समाजमा मात्रै विकसित भएको होइन । मानव सभ्यताका विभिन्न चरणमा कुकुरले सुरक्षा, साथ र सहयोगीको भूमिका निर्वाह गर्दै आएको इतिहास र धार्मिक ग्रन्थहरूमा उल्लेख छ । वैदिक साहित्य ऋग्वेदमा समेत कुकुरको महत्वपूर्ण प्रसंग पाइन्छ । ऋग्वेदमा वर्णित ‘सरमा’लाई देवताका राजा इन्द्रसँग जोडिएको पात्रका रूपमा उल्लेख गरिएको छ । हिन्दू धार्मिक तथा सांस्कृतिक मान्यतामा कुकुरलाई रक्षक, सहयोगी र यमराजको दूतका रूपमा समेत लिइन्छ ।महाभारतमा धर्मराज युधिष्ठिरले आफ्नो प्रिय कुकुरलाई साथ नलिई स्वर्ग जान अस्वीकार गरेको प्रसंगले मानिस र कुकुरबीचको आत्मीय सम्बन्धलाई झल्काउँछ । त्यस्तै, तन्त्र परम्परामा भगवान् भैरवको वाहनका रूपमा पनि कुकुरलाई मानिन्छ । चाणक्य नीतिमा कुकुरलाई थोरै निदाउने, सतर्क रहने, वफादार हुने र थोरै आहारमै सन्तुष्ट हुने प्राणीका रूपमा चित्रण गरिएको छ । यी विशेषताले कुकुरलाई घरको सुरक्षादेखि जंगलको पहरेदारीसम्म उपयोगी बनाएको देखिन्छ । तिहारमा पूजा, व्यवहारमा संरक्षणको सन्देश यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ । यस दिन मानिसले कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठो खानेकुरा खुवाएर सम्मान प्रकट गर्ने परम्परा छ । घरमा पालिएका कुकुरसँगै सडकमा रहेका कुकुरलाई समेत माला र टीका लगाएर खाना खुवाउने चलनले मानव समाजमा कुकुरप्रतिको आत्मीयता र कृतज्ञताको भावना अभिव्यक्त गर्छ । धार्मिक विश्वासअनुसार कुकुरको पूजा गरी भोजन गराउँदा पुण्य प्राप्त हुने मान्यता छ । कुकुरलाई सम्मान नगरी भोजन गर्ने मानिसले यमराजको दण्ड भोग्नुपर्ने जनविश्वाससमेत रहिआएको छ । तर कुकुर तिहारको सन्देश एक दिनको पूजा र सम्मानमा मात्रै सीमित हुनु हुँदैन । म्याग्दीका लेकाली भेडीगोठमा दिनरात पशुधनको सुरक्षामा खटिने कुकुरले आफ्नो व्यवहारबाट मानिसप्रतिको निष्ठा र सहयोगको अर्थ बुझाइरहेका छन् । मानिसको बस्तीबाट टाढा, चिसो जंगल र जोखिमपूर्ण खर्कमा गोठालाका भरपर्दा साथी बनेका यी कुकुरको योगदानले कुकुर तिहारको महत्वलाई अझ अर्थपूर्ण बनाएको छ । आखिर, कुकुरको सम्मान भनेको एउटा दिन माला लगाइदिनु मात्रै होइन, उसको निष्ठा र योगदानको कदर गर्दै सधैँ माया, सुरक्षा र उचित हेरचाह गर्नु पनि हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’
Latest NewsJust now

‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’

काठमाडौँ, कात्तिक २१ गते । भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनस्र्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायले बताएका छन् । ललितपुरमा आयोजित... ...

गोरखापत्र
यो सही समयमा हार हो: रोहित पौडेल
Latest NewsJust now

यो सही समयमा हार हो: रोहित पौडेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन्। शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पन... ...

नेपालखबर
उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान
Latest NewsJust now

उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौँ गोर्खाजका पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानले आफ्नो टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन्... ...

रातोपाटी
सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित
Latest NewsJust now

सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित

सुनसरी – धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । शनिबार आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शंकर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई संकलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताए । उनले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play