Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व : सूर्य आराधनामा निहित सभ्यता

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व : सूर्य आराधनामा निहित सभ्यता
Photo / Coverage: हिमालय टाइम्स

छठ पर्व समानता र प्रकृतिप्रतिको जीवनदर्शनको प्रतीक हो प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने पर्व हो छठ । उदाउँदो सूर्यको तेजस्वितामात्र होइन, अस्ताउँदो सूर्यको अस्तित्वलाई समेत उत्तिकै श्रद्धा र सम्मानका साथ स्वीकार गर्ने यस पर्वले मानव जीवनका अनेकौं दार्शनिक पक्षलाई उजागर गर्छ । आस्था, अनुशासन, समर्पण र प्रकृतिप्रतिको कृतज्ञताको अनुपम उदाहरणका रूपमा रहेको छठ आज धार्मिक अनुष्ठानमा मात्र सीमित छैन, यो सामाजिक सद्भाव, सांस्कृतिक पहिचान, समानता र राष्ट्रिय एकताको सशक्त माध्यमसमेत बनेको छ । मिथिलाञ्चल र तराईको सांस्कृतिक परिवेशमा गहिरो जरा गाडेको छठ पर्वको आकर्षण अहिले काठमाडौं उपत्यका, पहाडी जिल्ला हुँदै विश्वका विभिन्न मुलुकसम्म फैलिएको छ ।

सामान्यतः मानिसहरू उदाउँदो सूर्यलाई शक्ति, सफलता र नयाँ सम्भावनाको प्रतीकका रूपमा हेर्छन् तर छठले अस्ताउँदै गरेको सूर्यलाई पनि उत्तिकै सम्मान दिन सिकाउँछ । यसको सन्देश केवल धार्मिक अनुष्ठानमा सीमित छैन । जीवनमा सफलता, शक्ति र प्रतिष्ठा प्राप्त गरेका व्यक्तिलाई मात्र सम्मान गर्ने प्रवृत्तिभन्दा माथि उठ्न पनि यस पर्वले सिकाएको छ ।

भाषा, जाति, समुदाय र भौगोलिक सीमाभन्दा माथि उठेर मनाइने यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहअस्तित्व र सांस्कृतिक एकताको भावनालाई थप मजबुत बनाउँदै लगेको छ । सूर्यलाई सम्पूर्ण चराचर जगतको ऊर्जा र जीवनको आधार मान्दै गरिने उपासनाले मानिसलाई प्रकृतिको महत्त्व बुझ्न प्रेरित गर्छ । आधुनिक जीवनशैली र प्रविधिको तीव्र विकासका बीच पनि छठले परम्परा र आधुनिक चेतना, अध्यात्म र विज्ञान तथा व्यक्तिगत आस्था र सामूहिक जिम्मेवारीबीचको सम्बन्धलाई जीवन्त राखेको छ । चार दिनको साधना ः शुद्धता, संयम र समर्पण छठ पर्व चार दिनसम्म विशेष विधि र अनुशासनका साथ मनाइन्छ । यसको प्रत्येक दिनको आफ्नै धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्व छ । पर्वको पहिलो दिन नहाय-खायबाट अनुष्ठान प्रारम्भ हुन्छ ।

यसदिन व्रतालुले नदी, पोखरी वा अन्य पवित्र जलाशयमा स्नान गरी घर तथा भान्साको सरसफाइ गर्छन् । शुद्ध र सात्विक भोजन ग्रहण गरेर व्रतको सुरुवात गरिन्छ । दोस्रो दिन खरना मनाइन्छ । यसदिन व्रतालुले दिनभरि उपवास बसेर साँझ विधिपूर्वक पूजा गर्छन् । दूध, चामल र सख्खरबाट तयार गरिएको खीर तथा रोटी प्रसादका रूपमा ग्रहण गरिन्छ । त्यसपछि कठिन निर्जला व्रतको संकल्प गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिन्छ । बाँसका दाउरा र सुपमा ठेकुवा, कसार, केरा, नरिवल, उखु, अदुवा, पान तथा विभिन्न मौसमी फलफूल, मिठाई सजाएर जलाशयमा उपस्थित भई सूर्यदेवलाई अर्घ्य दिइन्छ । चौथो दिन बिहान उदाउँदो सूर्यलाई उषा अर्घ्य अर्पण गरेपछि व्रत सम्पन्न हुन्छ ।

यसरी चार दिनसम्म चल्ने छठले शारीरिक अनुशासन, मानसिक दृढता, पारिवारिक एकता र आध्यात्मिक समर्पणको अभ्यास गराउँछ । यस पर्वको अर्को विशिष्ट पक्ष भनेको पूजाका लागि पण्डित वा पुरोहितको अनिवार्य उपस्थिति नहुनु हो । व्रतालु स्वयंले सम्पूर्ण पूजा विधि सम्पन्न गर्छन् । यसले व्यक्तिको प्रत्यक्ष धार्मिक सहभागिता, आत्मविश्वास र समानताको भावनालाई अभिव्यक्त गर्छ । धार्मिक आस्थामा व्यक्ति स्वयंको साधना र संकल्पलाई महत्त्व दिने यो परम्परा छठको मौलिक विशेषता हो । अस्ताउँदो सूर्यलाई अर्घ्य : जीवनको गहिरो दर्शन छठ पर्वको सबैभन्दा विशिष्ट र दार्शनिक पक्ष अस्ताउँदो तथा उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गर्नु हो ।

सामान्यतः मानिसले उदाउँदो सूर्यलाई शक्ति, सफलता र नयाँ सम्भावनाको प्रतीकका रूपमा हेर्छन् तर छठले अस्ताउँदै गरेको सूर्यलाई पनि उत्तिकै सम्मान दिन सिकाउँछ । यसको सन्देश केवल धार्मिक अनुष्ठानमा सीमित छैन । जीवनमा सफलता, शक्ति र प्रतिष्ठा प्राप्त गरेका व्यक्तिलाई मात्र सम्मान गर्ने प्रवृत्तिभन्दा माथि उठेर कठिनाइमा रहेका, कमजोर अवस्थामा पुगेका र जीवनको उत्तरार्धमा रहेका व्यक्तिप्रति पनि समान आदरभाव राख्नुपर्ने मानवीय शिक्षा यसमा निहित छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनु भनेको जीवनका हरेक अवस्था र परिवर्तनलाई स्वीकार गर्नु हो । समय सधैं एकनास हुँदैन । आज उदाएको सूर्य भोलि अस्ताउँछ र फेरि नयाँ बिहान लिएर उदाउँछ । यसले जीवनमा निराश नभई धैर्य, आशा र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिन्छ ।

सूर्यको प्रकाशले धनी-गरिब, उच्च-नीच वा कुनै जाति र समुदायबीच भेदभाव गर्दैन । त्यसैगरी मानव समाजमा पनि सबैले समान अधिकार, अवसर र सम्मान पाउनुपर्छ भन्ने सामाजिक समानताको सन्देश छठले प्रवाह गर्छ । अध्यात्म र विज्ञानको संगम : सूर्यको महत्त्व सनातन धर्ममा सूर्यलाई प्रत्यक्ष देवता, जीवनदाता र सम्पूर्ण सृष्टिको ऊर्जास्रोतका रूपमा सम्मान गरिन्छ । सूर्यको उपासनासँग सम्बन्धित वैदिक परम्पराले पनि यसको आध्यात्मिक महत्त्वलाई स्पष्ट पार्छ । ऋग्वेदमा सूर्य, सविता र सौर्य ऊर्जासम्बन्धी अनेकौं मन्त्रहरू पाइन्छन् । गायत्री मन्त्रमा सवितृ देवताको दिव्य तेजको ध्यान गर्दै बुद्धि र चेतना सद्मार्गमा प्रेरित होस् भन्ने प्रार्थना गरिएको छ ।

आध्यात्मिक दृष्टिले सूर्य उपासनाले मानिसमा अनुशासन, धैर्य, आत्मसंयम, कृतज्ञता र सकारात्मक सोच विकास गर्न सहयोग गर्छ । बिहानको स्वच्छ वातावरणमा सामूहिक रूपमा गरिने पूजा, भजन र प्रार्थनाले मानसिक शान्ति तथा सामुदायिक आत्मीयताको अनुभूति गराउँछ ।

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य पृथ्वीको ऊर्जा प्रणालीको प्रमुख आधार हो । सूर्यको प्रकाशबाट वनस्पतिमा प्रकाश संश्लेषण प्रक्रिया सञ्चालन हुन्छ, जसले खाद्य उत्पादन र समग्र पारिस्थितिक प्रणालीलाई निरन्तरता दिन्छ । उपयुक्त सूर्यप्रकाशले मानव शरीरमा भिटामिन डी निर्माणमा भूमिका खेल्छ भने प्राकृतिक प्रकाशले शरीरको जैविक घडी नियमित राख्न मद्दत गर्छ । छठमा अपनाइने सरसफाइ, शुद्ध भोजन, उपवास र अनुशासनले पनि स्वास्थ्य तथा स्वच्छ जीवनशैलीप्रतिको सचेतना अभिवृद्धि गर्छ । यद्यपि धार्मिक आस्थाका नाममा स्वास्थ्यलाई जोखिममा पार्नु उचित हुँदैन ।

निर्जला व्रत सबैका लागि सुरक्षित नहुन सक्छ । गर्भवती महिला, वृद्धवृद्धा, दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था हेरी चिकित्सकीय सल्लाहअनुसार व्रतको अभ्यास गर्नु आवश्यक हुन्छ । परम्पराको निरन्तरता र आधुनिक समाजमा छठको बदलिँदो स्वरूप छठको इतिहास र परम्परा मिथिलाञ्चल तथा तराई–मधेसको कृषि, प्रकृति र सामुदायिक जीवनसँग गहिरो रूपमा जोडिएको छ ।

परम्परागत गाउँघरमा नदी, पोखरी, तलाउ र इनार आसपास सामूहिक रूपमा यो पर्व मनाइन्थ्यो । स्थानीय कृषि उत्पादन, बाँसका दाउरा, सुप, माटाका भाँडा तथा प्राकृतिक सामग्रीको प्रयोग गरिन्थ्यो । परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने, घरआँगन सफा गर्ने, घाट निर्माण तथा सरसफाइ गर्ने र मैथिली, भोजपुरीलगायत भाषाका परम्परागत छठ गीत गाउने चलन थियो ।

विशेषगरी महिलाहरूको सामूहिक सहभागिता र लोकगीतले यस पर्वलाई सांस्कृतिक रूपमा थप समृद्ध बनाएको छ । यस्ता परम्पराले पुस्तान्तरण हुँदै आएको भाषा, लोकसाहित्य, कला र सामाजिक सम्बन्धलाई जीवन्त राखेका छन् । समय परिवर्तनसँगै छठ मनाउने शैलीमा पनि व्यापक परिवर्तन आएको छ । शसहरीकरण, यातायात, सञ्चार र प्रविधिको विकासले यस पर्वलाई नयाँ परिवेशमा विस्तार गरेको छ । अहिले विभिन्न सहरमा व्यवस्थित छठ घाट निर्माण, विद्युत् सजावट, सांस्कृतिक कार्यक्रम, भजन-कीर्तन तथा सामूहिक आयोजना सञ्चालन गरिन्छन् । सामाजिक सञ्जाल र डिजिटल सञ्चारमाध्यमले छठका धार्मिक तथा सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन् तर आधुनिकतासँगै केही चुनौती पनि थपिएका छन् ।

प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोग, ध्वनि प्रदूषण, जलाशयमा फोहोर फाल्ने प्रवृत्ति र अनावश्यक तडकभडकले पर्वको मौलिकता तथा वातावरणीय पक्षमा असर पुर्‍याउनसक्छ । त्यसैले आधुनिक सुविधाको उपयोग गर्दा पनि पुरानो पुस्ताले जोगाउँदै आएको प्रकृतिमैत्री परम्परा र सांस्कृतिक मूल्यलाई संरक्षण गर्नु आवश्यक छ । मधेसको सांस्कृतिक पहिचानदेखि राष्ट्रिय उत्सवसम्म नेपालमा छठ पर्वको प्रमुख सांस्कृतिक केन्द्र मधेस प्रदेश हो । धनुषाको जनकपुरधामस्थित गंगासागर, धनुषसागर, रत्नसागरलगायत पवित्र जलाशयमा हजारौं व्रतालु तथा श्रद्धालु भेला भएर सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।

मैथिली लोकगीत, परम्परागत प्रसाद, मिथिला कला र सांस्कृतिक प्रस्तुतिले जनकपुरधामको छठलाई विशेष पहिचान दिएको छ । वीरगञ्जको घडिअर्वा पोखरी, विराटनगरका विभिन्न जलाशय, राजविराज, लहान, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा पनि छठ पर्व विशेष उत्साह र श्रद्धाका साथ मनाइन्छ । झापा, मोरङ र सुनसरीमा मैथिली, भोजपुरी तथा अन्य समुदायको सहभागिताले यसको सांस्कृतिक दायरा अझ फराकिलो बनाएको छ । काठमाडौं उपत्यकामा पनि छठको आकर्षण प्रत्येक वर्ष बढ्दैगएको छ । पशुपति क्षेत्रको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, थापाथली, टेकू, कुपण्डोल, बल्खु, नख्खु नदी तथा बालाजुको बाईसधारालगायत स्थानमा श्रद्धालुहरू भेला भएर सूर्यको उपासना गर्छन् ।

जल, जमिन र प्रकृतिको संरक्षण : पर्वसँग जोडिएको दायित्व छठ पर्व सूर्य र जलसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको वातावरणीय पक्ष अत्यन्त महत्त्वपूर्ण छ । सूर्यको उपासना गर्ने तर नदी, पोखरी र जलाशयलाई प्रदूषित गर्ने व्यवहार आफैंमा विरोधाभासपूर्ण हुन्छ । प्रकृतिलाई देवत्व प्रदान गरेर पूजा गर्नुको वास्तविक अर्थ प्रकृतिको संरक्षण र सम्मान गर्नु पनि हो ।

ललितपुर र भक्तपुरका विभिन्न जलाशयमा पनि व्रतालु तथा श्रद्धालुको सहभागिता उल्लेखनीय रूपमा बढिरहेको छ । त्यस्तै पोखरा, चितवन, धादिङ, नुवाकोटलगायत पहाडी जिल्लामा समेत छठ पर्वको सांस्कृतिक विस्तार भइरहेको छ । विदेशमा बसोवास गर्ने नेपाली समुदायले पनि विभिन्न मुलुकमा नदी, ताल तथा कृत्रिम जलाशयमा छठ मनाउँदै आएका छन् । यसले छठ कुनै एउटा भूगोल, भाषा वा समुदायको मात्र पर्व नभई नेपाली समाजको साझा सांस्कृतिक सम्पदा बन्दै गएको स्पष्ट पार्छ । मधेसको मौलिक पहिचान बोकेको यस पर्वले पहाड र हिमालका समुदायलाई समेत सांस्कृतिक आत्मीयताको सूत्रमा जोडिरहेको छ ।

जल, जमिन र प्रकृतिको संरक्षण : पर्वसँग जोडिएको दायित्व छठ पर्व सूर्य र जलसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको वातावरणीय पक्ष अत्यन्त महत्वपूर्ण छ । सूर्यको उपासना गर्ने तर नदी, पोखरी र जलाशयलाई प्रदूषित गर्ने व्यवहार आफैंमा विरोधाभासपूर्ण हुन्छ । प्रकृतिलाई देवत्व प्रदान गरेर पूजा गर्नुको वास्तविक अर्थ प्रकृतिको संरक्षण र सम्मान गर्नु पनि हो । यसैले छठका अवसरमा जलाशय तथा घाटको सरसफाइ, प्लास्टिकको प्रयोगमा कमी, जैविक तथा प्राकृतिक सामग्रीको प्रयोग, फोहोरको उचित व्यवस्थापन र जलस्रोत संरक्षणलाई प्राथमिकता दिनुपर्छ । पूजा सम्पन्न भएपछि पनि घाट सफा राख्ने जिम्मेवारी सबै श्रद्धालुको साझा दायित्व बन्नुपर्छ ।

यस कार्यमा राज्यका तीनै तहको भूमिका महत्त्वपूर्ण हुन्छ । संघीय सरकारले सांस्कृतिक सम्पदा संरक्षणका लागि आवश्यक नीति, बजेट र कार्यक्रम ल्याउनुपर्छ । प्रदेश सरकारले सांस्कृतिक पहिचानको संरक्षण तथा आवश्यक पूर्वाधार विकासमा सहयोग गर्नुपर्छ । स्थानीय सरकारले छठ घाटको व्यवस्थापन, सरसफाइ, खानेपानी, स्वास्थ्य सेवा, सुरक्षा, प्रकाश र भीड व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्छ । साथै स्थानीय समुदाय, सामाजिक संस्था, युवा समूह र नागरिक समाजले पनि जलाशय संरक्षण तथा वातावरणीय स्वच्छताका अभियानमा सक्रिय सहभागिता जनाउनुपर्छ । यसो गर्नसके छठ केवल धार्मिक पर्व नभई वातावरण संरक्षणको सामूहिक अभियानसमेत बन्नसक्छ ।

छठको वास्तविक सन्देश : सद्भाव, समानता र उज्यालो भविष्य छठ पर्वले मानव जीवनलाई प्रकृति, परिवार, समाज र आध्यात्मिक चेतनासँग जोड्ने काम गर्छ । यसले श्रमको सम्मान गर्न, आत्मसंयम अपनाउन, पारिवारिक सुख-समृद्धिको कामना गर्न, सामाजिक विभेद हटाउन र प्रकृतिप्रति कृतज्ञ बन्न सिकाउँछ । अस्ताउँदो सूर्यलाई सम्मान गर्नुले जीवनका कठिन अवस्था र कमजोर परिस्थितिमा रहेका व्यक्तिप्रति पनि सम्मानभाव राख्न प्रेरित गर्छ भने उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुले नयाँ आशा, सम्भावना र उज्ज्वल भविष्यको स्वागत गर्न सिकाउँछ । आजको बदलिँदो समाजमा छठको सान्दर्भिकता झन् बढेको छ ।

जातीय तथा सामाजिक विभेद, वातावरणीय प्रदूषण, सांस्कृतिक विचलन र मानवीय संवेदनाको कमी देखिँदै गएको वर्तमान समयमा यस पर्वले समानता, सहिष्णुता, सहअस्तित्व र सामूहिक जिम्मेवारीको महत्त्व सम्झाउँछ । धर्मलाई केवल कर्मकाण्ड र परम्परागत अनुष्ठानमा सीमित नराखी त्यसमा निहित मानवीय, वैज्ञानिक, सामाजिक र पर्यावरणीय चेतनालाई व्यवहारमा उतार्न सक्नु नै पर्वको वास्तविक उपलब्धि हो ।

परम्पराको संरक्षण गर्दै आधुनिक चेतनालाई आत्मसात् गर्न सके छठ भावी पुस्ताका लागि पनि प्रेरणादायी सांस्कृतिक धरोहर बन्नसक्छ । छठ केवल सूर्यलाई अर्घ्य अर्पण गर्ने पर्व होइन, यो प्रकृतिप्रतिको कृतज्ञता, मानवताप्रतिको सम्मान, सामाजिक समानताको प्रतिबद्धता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण व्यक्त गर्ने महान् सांस्कृतिक उत्सव हो । यही जीवनदर्शनलाई आत्मसात् गर्दै प्रकृति, संस्कृति र मानवताको संरक्षणमा अघि बढ्नु नै छठ पर्वको सार्थकता हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका... ...

रातोपाटी
अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर
Latest NewsJust now

अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर

नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज लगातार दोस्रो दिन अमेरिकन डलरको भाउ स्थिर बसेको छ। आज पनि हिजो आइतबारजस्तै अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। यस्तै चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, क... ...

नेपालखबर
धान काट्न व्यस्त छन् इलामका किसान
Latest NewsJust now

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका... ...

रातोपाटी
बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
Latest NewsJust now

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play