सुनसरी । छठ पर्वको अघिल्लो दिन सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न जलाशयमा पूजास्थल (घाट) निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ पर्व मनाइने इनरुवाका तीन प्रमुख स्थानमा स्थानीयवासी शनिबार बिहानैदेखि घाट निर्माण र सरसफाइमा जुटेका छन्। इनरुवाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने कुरुवा खोला, सुनसरी खोला र शंकरपुर नहरमा छठ पूजा गर्ने तयारी भइरहेको छ। तीनवटै स्थानमा स्थानीयवासी कोदालो, बेल्चा, बाल्टी र खुकुरीलगायतका सामग्री लिएर घाट सफा तथा व्यवस्थित गर्न खटिएका छन्। कतिपय स्थानमा जमिन सम्याउन डोजरसमेत प्रयोग गरिएको छ। स्थानीय आयोजकका अनुसार कुरुवा खोलामा २५०, सुनसरी खोलामा ५०० र शंकरपुर नहरमा १५० गरी कुल ९०० घाट व्यवस्थापन गर्ने काम भइरहेको छ। यसैबीच, छठ पर्वको दोस्रो दिन शनिबार खरना विधि मनाइँदैछ। यस अवसरमा व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको खीर कुलदेवता र छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। मैथिली भाषामा यस विधिलाई खरना भनिन्छ। छठ पर्वअन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।
छठ पर्वको तयारीमा जुटे इनरुवावासी, तीन स्थानमा घाट व्यवस्थापन हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






