काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कफी, ग्रीन टी, कालो चिया तथा चिया मसलासहितका उत्पादन गरी कुल १ अर्ब ६६ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यस अवधिमा नेपालले विश्वका २२ वटा विभिन्न देशमा काँचो कफी, क्याफिन नहटाइएको कफी, रोस्ट गरिएको कफी, डिक्याफिनेटेड कफी तथा कफीको बोक्रा र छालालगायतका उत्पादन निर्यात गरेको छ । यी कफीजन्य उत्पादनको कुल निर्यात मूल्य ३ करोड ९२ लाख ५८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नेपालबाट विश्वका ३१ देशमा १० करोड ८७ लाख ९७ हजार रुपैयाँ बराबरको ग्रीन टी निर्यात भएको छ । परिमाणका आधारमा यस अवधिमा ७७ हजार ४७७ किलो ग्रीन टी विदेशी बजारमा पुगेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यसै अवधिमा स्वादयुक्त वा स्वादरहित, तत्काल बिक्रीका लागि प्याकिङ गरिएको २१ हजार रुपैयाँ बराबरको १६ किलो ग्रीन टी ६ वटा देशमा निर्यात भएको छ । नेपाली ग्रीन टीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै लगेको यस तथ्यांकले देखाउँछ । कालो चियातर्फ पनि नेपालको निर्यात उत्साहजनक देखिएको छ । साउनदेखि असोजसम्ममा ४३ लाख ७३ हजार रुपैयाँ बराबरको आंशिक रूपमा प्रशोधित कालो चिया निर्यात भएको छ । यसका अतिरिक्त पूर्ण रूपमा प्रशोधित अन्य कालो चिया तथा चिया मसलाको निर्यात मूल्य १ अर्ब ५१ करोड ७२ लाख २८ हजार रुपैयाँ रहेको छ । कफी, ग्रीन टी, आंशिक रूपमा प्रशोधित कालो चिया तथा पूर्ण रूपमा प्रशोधित अन्य कालो चिया र चिया मसलाको निर्यातलाई समग्रमा हेर्दा नेपाली चिया तथा कफीजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय स्थान बनाउन थालेको देखिन्छ । नेपालको भौगोलिक विविधता, हावापानी र कृषि उत्पादनको सम्भावनाले चिया तथा कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने अवसर प्रदान गरेको छ । विशेषगरी नेपाली चिया र कफीको गुणस्तर, विशिष्ट स्वाद र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सके निर्यातको सम्भावना अझ बढ्न सक्छ ।
चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






