Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ । चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ । अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । यी देशले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पुर्याउने वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमताबारे ध्यानाकर्षण गराएको छ । चीनले अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने लक्ष्य राखेको डिआइएको आकलन छ । सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । यी उपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधि, हतियारको लक्ष्य निर्धारण, मौसम, समुद्री अवस्था र सञ्चारमा सहयोग पुर्याउन सक्छ । नागरिक तथा व्यावसायिक प्रयोजनका उपग्रहबाट प्राप्त तथ्याङ्कसमेत चिनियाँ जनमुक्ति सेनाले उपयोग गर्न सक्ने प्रतिवेदनको भनाइ छ । चिनियाँ उपग्रह प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि निगरानी गर्न र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सहयोग गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । चीनले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिक रहने कक्षमा ठूलो सङ्ख्यामा उपग्रह राखेर सञ्जाल विस्तार गरिरहेको छ । यसबाट विश्वका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत यसको प्रयोग गर्ने गरेको छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशमा उपग्रह निर्माण, प्रक्षेपण, तालिम तथा बेइडोउ सेवामार्फत चीनले अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ । चीनका ४०० भन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनीले स्वदेशी तथा विदेशी ग्राहकलाई सेवा दिन सक्ने प्रतिवेदनमा जनाइएको छ । डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ । चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम उपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो । यस क्षमताबाट पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेका उपग्रहलाई समेत निशाना बनाउन सकिने अनुमान गरिएको छ । त्यस्तै, आफ्ना उपग्रहबाट अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि चीनले विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘टोङ्क्सिन जिशु शियान’ शृङ्खलाका २७ उपग्रहलाई सम्भावित हस्तक्षेपकारी प्रणालीका रूपमा उल्लेख गर्दै तीमध्ये केही विदेशी अन्तरिक्षयानको १० किलोमिटर नजिक पुगेको जनाइएको छ । ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ । अन्तरिक्षमा हतियार तैनाथ नगर्ने प्रतिबद्धता अघि सार्दै आएको चीनले भने प्रतिअन्तरिक्ष हतियार विकास जारी राखेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२४ अप्रिलमा राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको रणनीतिक सहयोग बल विघटन गरेपछि अन्तरिक्षसम्बन्धी क्षमता नयाँ एरोस्पेस फोर्समा समावेश गरिएको थियो, जुन केन्द्रीय सैन्य आयोगअन्तर्गत रहन्छ । प्रतिवेदनले रुसले युक्रेन युद्धमा व्यावसायिक उपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि उल्लेख गरेको छ । आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने डिआइएको चेतावनी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुको छैटौँ विकेट गुम्यो
Latest NewsJust now

काठमाण्डुको छैटौँ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले छैटौँ विकेट गुमाएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १७.४ ओभरमा १५९... ...

रातोपाटी
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Latest NewsJust now

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प […] ...

लोकपथ
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य
Latest NewsJust now

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play