काठमाडौं । चितवन राइनोजका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा जनकपुर बोल्ट्स ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो । चितवनका लागि रन्जित कुमार र कप्तान सिकन्दर राजाले घातक बलिङ गर्दै जनकपुरको शीर्ष तथा मध्यक्रम ध्वस्त पार्नुभयो । चितवनले लिएका ९ विकेटमध्ये ७ विकेट स्पिनरले हात पारे । जनकपुरका लागि कप्तान हर्मित सिंहले सर्वाधिक २४ रन बनाउनुभयो । सातौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका उहाँले २४ बलमा २ चौका र १ छक्का प्रहार गर्नुभयो । यस्तै विशाल सुशलिङले १५ रन बनाउनुभयो । उहाँले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्नुभयो । जनकपुरका ओपनर तृतराज दास दोस्रो ओभरमा ५ रन बनाएर आउट हुनुभयो । त्यसपछि जनकपुरले नियमित अन्तरालमा विकेट गुमायो । पाँचौँ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताबीच भएको १८ रनको साझेदारी नै जनकपुरको इनिङ्सको सबैभन्दा ठूलो साझेदारी बन्यो । ओपनर सन्तोष कार्कीले १०, रायन बर्लले ६ रन बनाउनुभयो भने ह्यारी टेक्टर खाता नखोली आउट हुनुभयो । आदित्य महताले २५ बलमा ४ तथा अभिषेक तिवारीले पनि ४ रन बनाउनुभयो । राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन जोड्नुभयो । ललित राजवंशी २ रनमा अविजित रहनुभयो । चितवनका लागि रन्जित कुमारले सर्वाधिक प्रभावशाली बलिङ गर्नुभयो । उहाँले ३ ओभरमा १ मेडन राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिनुभयो । यस्तै कप्तान सिकन्दर राजाले ४ ओभरमा २ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिनुभयो । कमिल मिसारले पनि २ ओभरमा १८ रन खर्चेर २ विकेट लिनुभयो । उहाँले विशाल सुशलिङ र जिमी निशमलाई आउट गर्नुभयो । निशम ८ बल खेलेर खाता नखोली पेभेलियन फर्किनुभयो । मध्यम गतिका बलर कमल सिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिनुभयो । कमलले ४ ओभरमा २५ तथा रिजनले ३ ओभरमा १० रन खर्चिनुभयो ।
चितवनका स्पिनरसामु जनकपुरको ब्याटिङ ध्वस्त, ८८ रनमै समेटियो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






