काठमाडौं । संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाटको गुराँस हाइड्रो लिमिटेड आयोजनाको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । संखुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्याउँदै आएको छ । कम्पनीका अनुसार आयोजनाको प्रस्तावित लागत आठ अर्ब २० करोड रुपैयाँ रहेको छ । आयोजनाको हेडबर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा निर्माण भइरहेको छ । संखुवा खोला र सिसुवा खोलाको संगमस्थलमा बाँध निर्माण गरी करिब छ हजार चार सय मिटर लामो सुरुङमार्फत् पानी विद्युत् गृहमा पुर्याउने संरचना तयार पारिँदै छ । त्यस्तै, विद्युत् गृह भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा १ र २ अन्तर्गत बेखुवा क्षेत्रमा निर्माण भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत् अरुण नदीमा छोड्ने गरी संरचना निर्माण गरिएको छ । आयोजनाबाट प्रभावित क्षेत्रका चार सय २२ परिवारलाई न्यूनतम एक लाखदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको संस्थापक सेयर प्रदान गरिएको छ । गुराँस हाइड्रोका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले आयोजित एक समारोहबीच प्रभावित परिवारलाई सेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा उहाँले आयोजना स्थानीय क्षेत्रका साथै समग्र देशको ऊर्जा विकासका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । आयोजना निर्माण कार्यमा हाल प्राविधिक, निर्माण कर्मचारी, सुरक्षा निकाय तथा नेपाल प्रहरी र नेपाली सेनासहित करिब ७०० जना संलग्न रहेको जनाइएको छ । आयोजना सञ्चालनपछि संखुवासभा र भोजपुर जिल्लाको ऊर्जा विकास, स्थानीय अर्थतन्त्र तथा राष्ट्रिय विद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
चार सय बढी परिवारलाई गुराँस हाइड्रोको संस्थापक सेयर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






