काठमाडौं । सांसदहरूले चलचित्र क्षेत्रको विकासका लागि चलचित्रकर्मीको सामाजिक सुरक्षा सुनिश्चित गर्न तथा चलचित्र निर्माणमा हुने लगानीको जोखिम न्यूनीकरण गर्न बीमाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार चलचित्र विधेयक, २०८१ माथि भएको छलफलमा सांसदहरूले कानुन निर्माण गर्दा चलचित्र क्षेत्रमा हुने लगानीको सुरक्षा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । सांसदहरूले नीतिगत सुधारमार्फत चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने, स्वदेशी चलचित्रको प्रवर्द्धन गर्नुपर्ने तथा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने व्यवस्था कानुनमै समेट्नुपर्ने धारणा राख्नुभएको छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले चलचित्रलाई पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रमा योगदान पुर्याएका कलाकार तथा प्राविधिकको सामाजिक सुरक्षाका लागि राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । कलाकारको निधन हुँदा समेत आधारभूत सम्मान र सहयोग नपाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले चलचित्रकर्मीको संरक्षणलाई कानुनी रूपमै सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले चलचित्र विकास बोर्डलाई राजनीतिक तथा अन्य हस्तक्षेपबाट मुक्त राखी स्वायत्त रूपमा सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । चलचित्र क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै सेन्सरशिपका नाममा अनावश्यक हस्तक्षेप गर्न नहुने उहाँको भनाइ छ । त्यसैगरी, बालबालिकाले हेर्न मिल्ने र नमिल्ने चलचित्रको स्पष्ट वर्गीकरण गरी उमेरअनुसार चलचित्रमा पहुँच सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली चलचित्रको संरक्षण र प्रवर्द्धनका लागि स्वदेशी चलचित्रको प्रदर्शन तथा बजार विस्तारसम्बन्धी व्यवस्था ऐनमै समेट्नुपर्ने उहाँको सुझाव छ । विदेशी लगानीका लागि निश्चित मापदण्ड र नियमनसहित अनुकूल वातावरण बनाउन सके नेपाली चलचित्र क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी, सहकार्य र चलचित्र पर्यटनको सम्भावना विस्तार हुने उहाँले उल्लेख गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले चलचित्र उद्योग र पर्यटन उद्योगलाई एकआपसमा जोडेर विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाललाई खुला चलचित्र स्टुडियोका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि आवश्यक पूर्वाधार, अनुकूल कानुनी व्यवस्था र चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राख्नुभयो । नेपालको बहुसांस्कृतिक विविधता, ऐतिहासिक विकासक्रम र गौरवशाली इतिहासलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ । चलचित्र क्षेत्रको विकाससँगै यसमा आबद्ध चलचित्रकर्मीको सामाजिक सुरक्षालाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चलचित्रलाई समाज, सरकार र मानव जीवनका बहुआयामिक पक्ष जोड्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली चलचित्रको पहुँच र उपलब्धता विस्तार गर्नुपर्नेमा जोड दिँदै स्वदेशी चलचित्रले प्रदर्शनका लागि पर्याप्त सिनेमा हल नपाउने समस्या समाधान गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली चलचित्र सहज रूपमा उपलब्ध नहुँदा युवा पुस्ता तथा बालबालिकाको आकर्षण विदेशी चलचित्रतर्फ बढिरहेको उहाँको भनाइ छ । सांसद कार्कीले नेपाली चलचित्र निर्मातालाई लगानीको जोखिमबाट सुरक्षित गर्न बीमाको व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो । चलचित्र निर्माण गर्दा लगानी गुम्ने जोखिमका कारण निर्माताहरू हिचकिचाउनुपर्ने अवस्था अन्त्य गर्न सुरक्षित लगानीको वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । सांसदहरूले नेपाली चलचित्रमा प्रस्तुत गरिने विषयवस्तुको गुणस्तर अभिवृद्धि गर्न राज्यले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिनुभएको छ । चलचित्र विधेयकमार्फत चलचित्र क्षेत्रको व्यावसायिक विकास, लगानीको सुरक्षा, चलचित्रकर्मीको सामाजिक संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार र सांस्कृतिक पहिचानको प्रवर्द्धनलाई कानुनी रूपमा सम्बोधन गर्नुपर्ने उनीहरूको धारणा छ ।
चलचित्रकर्मीको सामाजिक सुरक्षा र लगानीको बीमा व्यवस्था गर्न सांसदहरूको जोड

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





