काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ गाईलाई गौमाताका रूपमा पूजा गर्ने परम्परा छ । गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले फूलमाला, टीका र विभिन्न परिकार खुवाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वास छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले गाईलाई सम्पूर्ण देवीदेवताको निवास र साक्षात् लक्ष्मीका रूपमा लिइने भएकाले विधिपूर्वक पूजा गर्ने परम्परा रहेको बताए । उनले भने, ‘अब गाईको पूजा किन गर्ने भन्दाखेरि गाईमा सम्पूर्ण देवीदेवताहरूको निवास हुन्छ । गाई जुन घरमा पालन गरिन्छ, जहाँ गाईको कृपा हुन्छ, त्यहाँ साक्षात् लक्ष्मीको रूपमा गौमाता रहेकी हुन्छिन् । तसर्थ, गाईको पूजा अर्चना विधि–विधानपूर्वक गर्नुपर्दछ ।’ उनका अनुसार गाईलाई पृथ्वी माताका रूपमा समेत लिइन्छ । मानिसको पालनपोषणमा गाईले पु¥याउने योगदानका कारण दूध, दही, घिउदेखि गोबर र पञ्चगव्यसम्म धार्मिक तथा सांस्कृतिक रूपमा प्रयोग हुँदै आएको छ । ‘गाईलाई धर्ती माता पनि भनिन्छ । गुरुलाई धर्मको रूपमा लिइन्छ भने गाईलाई पृथ्वीको सहनशीलताको, सबैलाई पालनपोषण गर्ने रूपमा हामी लिन्छौँ । त्यही भएर गाईका हरेक कुराहरू प्रयोग गर्छौँ । गाईको दूध, दही, घिउ मात्रै होइन, घर लिपपोत गर्न गोबर र शुद्धताको लागि पञ्चगव्यरुपमा प्रयोग गर्छौ,’ उनले भने । ढकालले गाईको महत्त्व धार्मिक मान्यतामा मात्र सीमित नभई मानव जीवन र संस्कृतिसँग पनि जोडिएको बताए । गाईले मानिसलाई पालनपोषणमा सहयोग पु¥याउने भएकाले यसको संरक्षण र सम्मान आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘केवल हामी म खाऊँ, मै लाऊँ, सुखसयलमा मोजमस्ती गरौँ भनेर आफूमात्रै ममेत्व बन्दैनौँ । हामी हरेक एउटा चेतन पशुको पनि पूजा–अर्चना, वन्दना गर्दछौँ । हाम्रो सभ्यता हो, वेदले त्यही बताउँछ, हाम्रो धर्मले त्यही बताउँछ ।’ यस वर्ष तिथिको संयोगका कारण गाईपूजा र लक्ष्मीपूजाको दिनमा फरक परेको उपप्राध्यापक ढकालले बताए । सामान्यतया औँसीकै दिन बिहान गाईपूजा र बेलुका लक्ष्मीपूजा गर्ने चलन रहे पनि यस वर्ष तिथिअनुसार पूजा फरक दिनमा परेको उनको भनाइ छ । उनले लक्ष्मीपूजाको भोलिपल्ट सोमवती औँसी परेको उल्लेख गर्दै उक्त दिन मौन स्नान गर्दा लाखौँ गाई दान गरेसरह फल प्राप्त हुने धार्मिक मान्यता रहेको बताए । तिहारमा गाईको पूजा गर्नुले मानिस र पशुबीचको सम्बन्ध, प्रकृतिप्रतिको सम्मान तथा संरक्षणको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहँदै आएको छ ।
गौमाताको पूजा गरि गाई तिहार मनाइदैँ, यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






