काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)की सांसद तथा अभिनेत्री कंगना रनावतविरुद्ध गान्धी परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा विवादित पोस्ट गरेको आरोपमा प्रहरीमा एफआईआर दर्ता भएको छ । हिमाचल प्रदेशको शिमलास्थित प्रहरीले नोभेम्बर १३ शुक्रबार रनावतविरुद्ध मुद्दा दर्ता गरेको हो । अवकाशप्राप्त क्याप्टेन अतुल शर्माले दिएको उजुरीका आधारमा प्रहरीले एफआईआर दर्ता गरेको जनाएको छ । शर्माले नोभेम्बर १० मा रनावतले आफ्नो प्रमाणित सामाजिक सञ्जाल खाताबाट सार्वजनिक गरेको पोस्ट उत्तेजक र सार्वजनिक शान्ति भंग गर्न सक्ने प्रकृतिको रहेको आरोप लगाएका छन् । उक्त पोस्टमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी तथा उनका छोरा सञ्जय गान्धी र राजीव गान्धीको मृत्युलाई लिएर शंकास्पद आशय व्यक्त गरिएको उजुरीमा उल्लेख छ । साथै, कांग्रेस नेतृ सोनिया गान्धीलाई ‘रहस्यमय विदेशी नागरिक’ भन्दै पोस्टमा उल्लेख गरिएको विषयमा पनि उजुरीकर्ताले आपत्ति जनाएका छन् । भारतीय न्याय संहिता (बीएनएस)का विभिन्न तीनवटा धाराअन्तर्गत मुद्दा दर्ता भएको हो । शिमलाका प्रहरी उपरीक्षक गौरव सिंहले एफआईआर दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उजुरीकर्ताले रनावतको पोस्टले विभिन्न समुदायबीच वैमनस्यता फैलाउन र सार्वजनिक शान्ति खल्बल्याउन सक्ने दाबी गरेका छन् । उनले पोस्टको साइबर फरेन्सिक अनुसन्धान गर्नसमेत माग गरेका छन् । सन् १९८१ तिरको गान्धी परिवारको एक पुरानो पारिवारिक भिडियो सामाजिक सञ्जालमा पुनः चर्चामा आएका बेला रनावतको उक्त पोस्ट सार्वजनिक भएको थियो । संयोगवश, सोही दिन सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलङिङ : अ जर्नी अफ लभ’ पनि सार्वजनिक भएको थियो ।
गान्धी परिवारबारे विवादित पोस्ट गर्दा कंगना रनावतविरुद्ध एफआईआर दर्ता

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





.jpg)
