नेपालमा काठमाण्डू नआइकनै देशभित्रका मुख्य सहरहरूबीच उडान सञ्चालनको प्रयास केही वर्षयता भइरहे तापनि "यात्रु अभाव" त्यसको मुख्य अवरोधका रूपमा रहेको अधिकारी तथा विमान सेवा सञ्चालकहरूले बताएका छन्। आधा दशकअघि नै नेपालमा सरकारले अन्तरप्रदेश उडान सुरु गर्दै त्यसका लागि छुटहरू दिने कार्यक्रम अघि सारेको थियो। आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् खासगरी विभिन्न प्रदेशका राजधानी एवं सहरहरूबीचमा हुने उडानका लागि विभिन्न छुट तथा प्रोत्साहन योजना अघि सारिएको थियो। सुरुमा पोखराका लागि भैरहवा र भरतपुरबाट उडानहरू सुरु गर्दा उड्डयन अधिकारीहरूले क्रमिक रूपमा काठमाण्डू बाहिरका विमानस्थलमा राति विमानहरू रहने अवस्था बन्ने र सङ्घीय राजधानी नआइकनै बाहिरबाटै यात्रुहरू गन्तव्यमा पुग्ने माहोल बन्ने अपक्षा राखेका थिए। "काठमाण्डू विमानस्थलमा दिनहुँ बढिरहेको ट्राफिक (हवाई चाप) कम गर्ने हाम्रो मुख्य चुनौती छँदै थियो," नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने। "मोफसलका विमानस्थल पनि चलायमान बनाउनु अर्को उद्देश्य थियो।" उडानमा ढिलाइ भए यात्रुलाई क्षतिपूर्ति दिलाउन प्रस्तावित कानुनका तीन सर्त'आधाजसो नेपाली परिवार घुमफिर गर्न गएका छैनन्' विमान सेवा सञ्चालक सङ्घ नेपालले आफूहरूले यस बीचमा सञ्चालन गरेर हेरेका रुटमा पोखरासँग जोडिने केही सीमित गन्तव्य मात्र लाभदायी देखिएको जनाएको छ।बुद्ध एअरका एकजना निर्देशक समेत रहेका सङ्घका कोषाध्यक्ष रूपेश जोशीले यतिखेर नियमित रहेको भनेको "भारतीय पर्यटकको भरमा भैरहवा-पोखरा" रुट मात्र रहेको बताउँछन्।"अरू अहिले सबै बन्द भइसक्यो," उनी भन्छन्।देशव्यापी 'असफल' प्रयास Getty Images त्यस बीचमा पोखरा-विराटनगर, विराटनगर-भैरहवा, नेपालगञ्ज-पोखरा, जनकपुर-लुक्ला, पोखरा-जनकपुरजस्ता ठाउँमा उडान सुरु गरिए तापनि ती केही महिनाभन्दा बढ्ता चल्न सकेनन्।केही लामो समय सञ्चालनमा रहेका रुटमा पोखरा-भैरहवा र पोखरा-भरतपुर भए तापनि यतिखेर मुग्लिङ-पोखरा खण्डमा सडकको स्तरोन्नति भएपछि हाल नियमित रूपमा पोखरा-भैरहवा रुट मात्र सञ्चालनमा रहेको बताइएको छ।"एकदमै कम चल्न सकेको सेक्टर भनेको विराटनगर-भैरहवा रह्यो। त्यहाँ श्री एअरलाइन्स र सौर्य एअरलाइन्सले एक-दुई महिनाभन्दा बढ्ता उडान गर्न सकेनन्," क्यान सहप्रवक्ता भुल भन्छन्।पोखराबाट भरतपुर र नेपालगञ्ज नियमित नभई रहे पनि अझैसम्म पनि धेरै उडान हुने रुटमा गनिने गरेको अधिकारीहरू बताउँछन्। नेपालमा हवाई टिकटको मूल्य किन बढ्यो, भाडा कसरी तय हुन्छलिलाम हुन नसकेका चिनियाँ जहाजबारे वायुसेवा निगम अनिर्णीत, अर्थ मन्त्रालयको मुख ताक्दै सङ्घका कोषाध्यक्ष रूपेश जोशीले धेरैतिर चलाएरै प्रयासहरू गरे पनि "यात्रु नै नहुनुले" कतै लाभदायी नपाइएको बताउँछन्।"पोखरा-नेपालगञ्जमा यात्रुको माग हेरेर कहिलेकाहीँ उडान हुने गर्छ। अन्यत्र बिहे वा अन्य निश्चित आवश्यकता हेरेर केही चार्टर्ड फ्लाइटहरू हुने गरेको छ," जोशी भन्छन्। "चार्टर्ड जहिले पनि गर्न सकिने अवस्था हुन्छ। तर त्यो महँगो पर्न आउँछ।"विमान सञ्चालकहरूले नियमित उडान गर्न खोजिराखे पनि त्यहाँ एकनासले यात्रुहरू नभेटेपछि थप जोखिम उठाउन नखोजिरहेको उड्डयन अधिकारीहरूको भनाइ पाइन्छ।"वायुसेवा कम्पनीहरूले कम्तीमा ७० प्रतिशत जति यात्रु हुने अवस्था खोज्छन्," क्यानका भुल भन्छन्।नियमित यात्रु हुने अवस्था हुँदा जहिले पनि फर्कन सक्ने अवस्थामा रहेको वायुसेवा सञ्चालकहरू बताउँछन्।क्यानका भुल भन्छन्: "काठमाण्डू बाहिर [मुख्य विमानस्थलबाट] लगभग सबैजसो रुटमा उडानहरू परीक्षण भएका छन्। अन्यथा आवश्यक पर्दा र सम्भव हुँदाका हकमा सबैतिर ती सम्भव देखिन्छन्।"रुपेश जोशी भने पोखराजस्तो पर्यटकीय गन्तव्यमा समेत भैरहवाबाट बाहेक काठमाण्डूबाहिरका अन्य विमानस्थलबाट भर पर्न सक्ने अवस्था नबनेको बताउँछन्।"पोखराबाट हामीले धनगढी, वीरगञ्ज, जनकपुर, नेपालगञ्ज सबैतिर गर्दा पनि भएन। भैरहवा-पोखरा पनि यात्रु पाउन छाड्दाको दिन बन्द गर्नुपर्ने हुन्छ," जोशीले भने। नेपाल आउजाउ गर्न हवाई टिकट किन सधैँ महँगो हुन्छविमानहरू काठमाण्डूबाहिर बास बस्न थाले, अब हवाईयात्रामा के फरक पर्छ पहाडी भेगका उडानमा पनि 'निराशा'पश्चिम पहाडी भेगका छोटा धावनमार्ग भएका जुम्ला, डोल्पा, सिमिकोट, बाजुरा, राराजस्ता कतिपय विमानस्थलमा नेपालगञ्जबाट त्यसअघिदेखि नै उडानहरू हुँदै आएका छन्।पोखराको पुरानो विमानस्थलबाट जोमसोमका लागि समेत उडानहरू हुने गरेका छन्। तर ती धेरैजसो पर्यटकीय याममा मात्र चल्छन्।बसन्तमासको मुख्य आरोहणयाम र शरदमासको पदयात्रा हुने समयका लागि रामेछापबाट लुक्लाका लागि उडान हुने गरेका छन्।काठमाण्डूबाट रामेछाप जाने बाटो बिग्रिएपछि लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुर विमानस्थललाई विकल्प बनाउन खोजिए तापनि त्यो पर्यटकहरूका लागि आकर्षक मानिएनन्।केही वर्ष अघिसम्म विराटनगरबाट खोटाङ, ताप्लेजुङ, लामिडाँडा, खानीडाँडामा उडान हुने गरेकामा त्यस क्षेत्र समेत सुकेको अवस्था रहेको क्यानका अधिकारीहरू बताउँछन्। रसुवा बाढीपछि हेलिकप्टर उद्धारमा नेपालमा हालसम्मकै 'ठूलो अपरेशन', पाइलटहरू कसरी गर्दै छन् काम आरामदायी बसहरू सुलभ हुँदा पनि अन्तर प्रदेश उडान सफल हुन नसकिरहेको वायुसेवा सञ्चालकहरूको मत पाइन्छ।"भैरहवा-नेपालगञ्ज वा विराटनगर-नेपालगञ्जजस्ता रुटमा अहिले बाटो राम्रो छ। त्यसैले त्यहाँ महँगो लागतमा उडान सञ्चालन गर्ने जोखिम कसैले पनि लिँदैन," रुपेश जोशी भन्छन्।२०७३ सालमा तोकिएको हवाई भाडा बेलाबखत हवाई इन्धनका भाउका भरमा केही समायोजन भए पनि उल्लेख्य रूपमा समीक्षा हुन नसकेको बताइन्छ।"त्यसमाथि धेरैतिर विस्तार भएको सडक सञ्जालबीच यात्रु कम हुँदा ती रुटका विमान कम्पनीहरू नाफामा नभएको बताउँदै नियमित गर्न सकेका छैनन्। त्यसले त्यहाँ विश्वास गुमाइरहेको छ," भुल भन्छन्।सङ्घका रुपेश जोशीले दुर्गमका विमानस्थलमा समेत सडक यात्रा सहज हुँदाका हकमा उडानमा उत्साह नभएको बताउँछन्।सरकारी स्वामित्वको नेपाल वायुसेवाका आन्तरिकतर्फ उडान नहुने तर निजी क्षेत्रका कम्पनीले घाटा खाएर उडान गर्न नचाहेको बताइरहँदा पहाडी भेगका रूपमा समेत क्षेत्रीय उडान हुन नसकिरहेको बताइन्छ।"धनगढीबाट हामीले बझाङ, साँफेबगर, डोटीमा उडान चलाए पनि अहिले ती नियमित नहुँदा यात्रुको विश्वास बचाउन सकेनन्," भुल भन्छन्।दुर्गम क्षेत्र हवाई कोष सम्बन्धी कार्यविधि बनाएर प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाए पनि त्यो पारित हुन सकेन।भुल थप्छन्: "त्यो स्वीकृत भएका भए हामीले ७० प्रतिशतभन्दा कम उडान हुँदाका हकमा प्रदेश, स्थानीय सरकारको संयुक्त लगानीमा वायुसेवा कम्पनीलाई भार नपर्ने गरी नियमित पार्ने भन्ने सोचिएको थियो। त्यो हुन नसक्दा विमान सेवा कम्पनीहरूले नाफा हुने क्षेत्र मात्र रोजिरहेको अवस्था छ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
काठमाण्डू बाहिरबाहिरै आन्तरिक यात्रुवाहक उडान, नेपालमा किन धेरै चलिरहेको छैन?

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






