काठमाडौं । काठमाडौं महानगरपालिकाले जमिनमुनिको पानीको सतह बढाउने उद्देश्यसहित ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गरेको छ । जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर महानगरपालिकाले वर्षाको पानी जमिनमुनि पठाउने रिचार्ज पिट निर्माण अभियान अघि बढाएको हो । सोमबार राष्ट्रिय सभा गृह परिसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको उद्घाटन गर्नुभयो । अभियान उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जमिन पुनःभरण कार्यक्रम काठमाडौंको मौलिक स्वरूप संरक्षणका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । रैथाने वनस्पति, प्राणी तथा चराचुरुङ्गीको संरक्षण, रैथाने बालीको उपलब्धता, नदी किनाराको हरियाली तथा हिटी र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण दिगो उपाय हुने उहाँको भनाइ थियो । संघ र प्रदेश सरकारले आवश्यक स्रोत उपलब्ध गराउने तथा महानगरपालिकाले प्राविधिक सहयोगमार्फत प्रणाली विकास गर्न सके दिगो नतिजा हासिल गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री थापाले काठमाडौं महानगरपालिकाले सुरु गरेको अभियान देशभर जलवायु अनुकूलन तथा पानी पुनःभरणको अभियान विस्तार गर्न प्रेरणादायी हुने अपेक्षा व्यक्त गर्नुभयो । महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले पानीको अभाव बढ्दै गएकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै जमिन पुनःभरणको काम सुरु गर्नुपर्ने बताउनुभयो । ‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नुपर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ,’ उहाँले भन्नुभयो । डंगोलले महानगरपालिका कार्यालय, वडा कार्यालय तथा विद्यालयहरूमा समेत पुनःभरण प्रणाली निर्माण गरिने जानकारी दिनुभयो । सरकारी कार्यालयहरूले स्थान उपलब्ध गराए महानगरपालिकाले नै रिचार्ज प्रणाली निर्माण गरिदिने उहाँले बताउनुभयो । उहाँले यो अभियान कार्यवाहक प्रमुखको हैसियतमा मात्र नभई साझा पृथ्वीको जिम्मेवार नागरिकका रूपमा सुरु गरिएको पनि स्पष्ट पार्नुभयो । महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार रिचार्ज प्रणाली निर्माणका लागि गत वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत करिब ८० लाख रुपैयाँमा निर्माण पक्षसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उक्त योजनाअन्तर्गत मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा रिचार्ज प्रणाली निर्माण गरिनेछ । राईका अनुसार एउटा रिचार्ज पिट निर्माण गर्न २० फिट गहिरो र २ फिट ६ इन्चदेखि ४ फिटसम्म व्यास भएको खाल्डो खनिनेछ । खाल्डोको तल्लो ९ फिट भागमा ढुङ्गा, त्यस माथिको ७ फिट भागमा २० देखि ४० एमएमका गिट्टी र एक फिट भागमा बालुवा राखिनेछ । त्यसपछि पानी छान्न जिओटेक्सटाइल कपडा राखेर माथिल्लो तीन फिट भाग खाली छाडिनेछ भने अन्तिममा कभर लगाइनेछ । महानगरपालिकाले यस योजनाअन्तर्गत २ फिट ६ इन्च, ३ फिट र ४ फिट व्यासका ४६/४६ वटा गरी कुल १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ । यसबाट वर्षाको पानी जमिनमुनि पुनःभरण गर्न सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ ।
काठमाडौं महानगरले सुरु गर्यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





.jpg)
