काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक विचार र लोकतान्त्रिक आन्दोलनलाई गीत–संगीतमार्फत जनस्तरसम्म पुर्याउन गायक, गीतकार तथा संगीतकार डिबी गुरुङले महत्त्वपूर्ण योगदान दिनुभएको छ । विसं २०४८ सालको आमनिर्वाचनका बेला ‘जय नेपाल जनसन्देश’ अडियो क्यासेटमार्फत कांग्रेसका लागि औपचारिक रूपमा राजनीतिक गीत निर्माण र प्रचारप्रसारको सुरुवात गर्नुभएका गुरुङको ‘जाग जाग कांग्रेस जाग जाग रे…’ गीत निकै लोकप्रिय बनेको थियो । उक्त गीतका निक्कै क्यासेट वितरण भएको बताइन्छ । कांग्रेसप्रतिको उहाँको राजनीतिक आस्था पारिवारिक विरासतसँग पनि जोडिएको छ । उहाँका बडाबाउ मेजर तिलबहादुर गुरुङ ब्रिटिश आर्मीबाट अवकाशपछि नेपाली कांग्रेसको आन्दोलनमा सक्रिय हुनुभएको थियो । बीपी कोइरालाले समेत आफ्नो आत्मवृत्तान्तमा मेजर तिलबहादुरको साहस र योगदानको स्मरण गर्नुभएको छ । सशस्त्र द्वन्द्वका बेला माओवादीबाट कांग्रेसका नौजना नेता–कार्यकर्ताको हत्या भएपछि सिर्जना भएको प्रतिकूल वातावरणमा गुरुङले ‘आँसु’ एल्बमका लागि संगीत भर्नुभएको थियो । राजेन्द्रबहादुर शाह र दीर्घराज रेग्मीका शब्द समेटिएको उक्त एल्बम तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पोखराबाट विमोचन गर्नुभएको थियो । एल्बम सार्वजनिक गरेपछि गुरुङले करिब पाँच महिनासम्म माओवादीबाट धम्की र दबाबसमेत खेप्नुपरेको थियो ।गीत–संगीतसँगै कलाकारको हकहित र संगठन निर्माणमा पनि उहाँको योगदान उल्लेखनीय छ । २०५७ सालमा एक हजार कलाकारको हस्ताक्षरसहित ‘नेपाल सांस्कृतिक कलाकार संघ’ श्रम विभागमा दर्ता गराउनुभएका गुरुङले उक्त संस्थालाई ५५ भन्दा बढी जिल्लामा विस्तार गर्दै तीन कार्यकाल नेतृत्व गर्नुभएको थियो । यसअघि उहाँले ‘हिमाली सांस्कृतिक संघ’ र ‘जय नेपाल सांस्कृतिक प्रतिष्ठान’मार्फत पनि सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गुरुङका पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । तीमध्ये करिब ९५ वटा नेपाली कांग्रेससँग सम्बन्धित छन् । आधुनिक, लोक तथा भजनलगायत विभिन्न विधामा सिर्जना गर्नुभएका उहाँले देशका विभिन्न जिल्ला र दुर्गम बस्तीमा पुगेर गीत-संगीतमार्फत पार्टीको विचार र सन्देश प्रवाह गर्नुभएको छ । सांस्कृतिक क्षेत्रसँगै प्रशासनिक जिम्मेवारीमा समेत अनुभव हासिल गर्नुभएका गुरुङले सुशील कोइराला नेतृत्वको सरकारका बेला शहरी विकास मन्त्रालयअन्तर्गत राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकका रूपमा काम गर्नुभएको थियो । त्यस्तै, गिरिजाप्रसाद कोइरालाको कार्यकालमा स्थानीय निकाय वित्तीय आयोगको उपाध्यक्ष तथा राजस्व विज्ञका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
कांग्रेसको राजनीतिक गीत-संगीतका अभियन्ता डिबी गुरुङ

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






