काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनको जिम्मेवारी पाए पनि सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसके देशले दुःख पाउने बताउनुभएको छ । छठ पर्व मनाउन सर्लाही पुग्नुभएका सभापति थापाले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो । सरकार सञ्चालनका क्रममा कमजोरी देखिए त्यसको खबरदारी गर्नु कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उहाँको भनाइ थियो । उहाँले निर्वाचनबाट जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी दिएको उल्लेख गर्दै रास्वपाले सरकार सञ्चालनको जिम्मेवारी पाएको बताउनुभयो । तर, सरकार सही ढंगले सञ्चालन हुन नसके त्यसको असर देश र जनताले भोग्नुपर्ने उहाँले बताउनुभयो । सभापति थापाले घेराबन्दी र षड्यन्त्रबाट कांग्रेसलाई कमजोर बनाउन नसकिने दाबी गर्नुभयो । यस्ता चुनौती विगतमा पनि सामना गर्दै आएको उल्लेख गर्दै उहाँले पार्टीले सबै चुनौती चिर्दै अघि बढ्ने बताउनुभयो । कांग्रेसको मुख्य चिन्ता देशको समय खेर नजाओस् र जनताले दुःख भोग्न नपरोस् भन्ने रहेको उहाँले स्पष्ट पार्नुभयो । आगामी पाँच वर्षको समय देशको विकास र जनताको हितमा सदुपयोग हुनुपर्ने उहाँको भनाइ थियो । यसैबीच, सभापति थापाले काठमाडौंको कमलपोखरीमा २०६४ सालदेखि तत्कालीन राष्ट्रपति रामवरण यादवलाई सहभागी गराएर छठ पर्व मनाउन सुरु गरेको स्मरण गर्नुभयो । त्यसबेला काठमाडौंमा गौरीघाट र बागमती गरी दुई स्थानमा मात्रै छठ पर्व मनाउने गरिएको उहाँले बताउनुभयो । दुई वर्षअघि परिवारसहित मधेश पुगेर जनकपुर र वीरगञ्जमा छठ मनाउनुभएको थापाले यस वर्ष आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पर्व मनाउन पुग्नुभएको हो । उहाँले पार्टीको केन्द्रीय समितिको बैठकपछि पुनः सर्लाही आउने र निर्वाचन क्षेत्रका सबै गाउँमा पुग्ने प्रतिबद्धता पनि जनाउनुभयो । कांग्रेसको अधिवेशन प्रक्रिया र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे बोल्दै सभापति थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर ४ गते निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलहरूलाई बोलाएको छ । उक्त छलफलपछि निर्वाचनको मिति निर्धारणबारे थप स्पष्ट हुने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा सर्लाहीका सबै स्थानीय तहमा कांग्रेसलाई एकताबद्ध रूपमा परिचालन गर्ने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गर्नुभयो ।
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






