काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेपाली कांग्रेसको वास्तविक विचार, सिद्धान्त, आदर्श र राजनीतिक संस्कार शेरबहादुर देउवा नेतृत्वको पार्टीमा रहेको दाबी गर्नुभएको छ। नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उहाँले पार्टी विभाजन आफूहरूले नगरेको, बरु अर्को पक्षले गरेको आरोप लगाउनुभयो। नेता महतले पार्टीको नियमित अधिवेशन वैशाखमा गर्ने सहमति केन्द्रीय समितिबाटै भएको उल्लेख गर्दै निर्धारित समयमा अधिवेशन सम्पन्न भएको भए नयाँ नेतृत्व निर्वाचित भएर आउने बताउनुभयो। उहाँले पार्टीको चुनाव चिह्न रूख र झण्डा अर्को पक्षसँग रहेको भन्दैमा त्यसैका आधारमा पार्टीको वास्तविकता निर्धारण नहुने जिकिर गर्नुभयो। पार्टी विभाजनको जिम्मेवार आफूहरू नभई अर्को पक्ष रहेको उहाँको आरोप थियो। महतले अर्को पक्षले कुनै सर्त र आधारबिना पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदै त्यसको प्रभाव निर्वाचन आयोगदेखि न्यायिक निकायसम्म पुगेको बताउनुभयो। सर्वोच्च अदालतले यसअघि भएका निर्णयमा कमी–कमजोरी र त्रुटि रहेको स्वीकार गरिसकेको उल्लेख गर्दै उहाँले न्यायको पक्षमा फैसला आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौँ। जे भए पनि मूल कुरा के हो भने नेपाली कांग्रेसको आत्मा हामीमा छ। शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ। नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्श हामीले बोकेका छौँ।’ महतले देउवा नेतृत्वको कांग्रेसले पार्टीको विचार, सिद्धान्त, आदर्श र विधि–प्रक्रियालाई आत्मसात् गरेको दाबी गर्नुभयो। अर्को पक्षले प्रजातान्त्रिक समाजवादी विचारसमेत परित्याग गरेर अहिले सामाजिक प्रजातन्त्रको कुरा गर्न थालेको उहाँको आरोप थियो। उहाँले भन्नुभयो, ‘उहाँहरूले विधि–प्रक्रियालाई नै छाड्नुभयो। प्रजातान्त्रिक समाजवादी विचार पनि परित्याग गरिसक्नुभयो। अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ। राप्रपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीहरूको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र। त्यसैले उहाँहरूले विचार छोडिसक्नुभयो।’ नेता महतले नेपाली कांग्रेसमा सामूहिक छलफल, सहमति र देशभरका कार्यकर्ताको भावनालाई समेटेर निर्णय गर्ने परम्परा रहेको बताउनुभयो। देउवाले पार्टीमा कहिल्यै एकलौटी निर्णय नगरेको उल्लेख गर्दै उहाँले सबै नेताको कुरा सुनेर निष्कर्षमा पुग्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सबै नेताबीच छलफल गरेर देशैभरिका कार्यकर्ताको भावनालाई मध्यनजर गर्दै निर्णय गर्ने पद्धति नेपाली कांग्रेसमा थियो। शेरबहादुर दाइले कहिल्यै आफूखुसी निर्णय गर्नुहुँदैनथ्यो। सबैको कुरा सुनेर सबैलाई समेट्दै निष्कर्षमा पुग्नुहुन्थ्यो।’ महतले अहिलेको नेतृत्वमा नेपाली कांग्रेसको परम्परागत राजनीतिक संस्कार, विचार, सिद्धान्त र विधि नरहेको टिप्पणी गर्नुभयो। पार्टी व्यक्तिवादमा केन्द्रित भएको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेसको वास्तविक आत्मा देउवा नेतृत्वको पक्षमै रहेको दाबी गर्नुभयो।
कांग्रेसको आत्मा देउवा नेतृत्वको पार्टीमा छ : प्रकाशशरण महत

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






