काठमाडौं । कर्णाली याक्समा अनुबन्ध हुनुभएका टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुग्नुभएको छ । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बायाँ हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाड्नुभएको छ । उहाँले भारतको इण्डियन प्रिमियर लिग (आइपिएल), अष्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरू खेल्नुभएको छ । उहाँले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेल्नुभएको थियो । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी हुनुहुन्थ्यो । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभएको छ । मिलरले दक्षिण अफ्रिकाबाट १४० टी-२० आईमा दुई हजार ८०४ रन बनाउनुभएको छ । यसक्रममा दुई शतक र नौ अर्धशतक प्रहार गर्नुभएको थियो । उहाँले आफ्नो करियरमा दुई टी-२० मा भारत र बंगलादेशविरुद्ध शतक बनाउनुभएको थियो । यता, उहाँले ५८४ टी-२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाउनुभएको छ । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाउनुभएको छ । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गर्नुभएको थियो । यस्तै, आइपिएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गर्नुभएको थियो । कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्ससँग खेल्दैछ । सो खेलमा डेविड मिलर सहभागी हुनुहुनेछ ।
कर्णाली याक्सबाट खेल्न डेविड मिलर नेपालमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_7NaCkd5ckA.jpg)



