Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला : जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला : जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
Photo / Coverage: पर्दाफास

गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेलामार्फत मुलुकको विद्यमान अवस्था र पार्टी जीवनका समस्याको समीक्षा थालेको छ । लोकतान्त्रिक आन्दोलनका लागि सङ्घर्ष गरेको र पटकपटक सरकारको नेतृत्व गरेको एमालेले जनताको दैनिक जीवनका समस्या र सरोकारका विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवाज भेलामा उठेको छ । भेलामा किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी, ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायका मुद्दामा पार्टीको सक्रियता बढाउन आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे व्यापक छलफल हुनुपर्ने आवाज उठेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको दुई दिने राष्ट्रिय भेलामा पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका १४ प्रमुख समस्या औँल्याउँदै समाधानका लागि लिखित प्रस्ताव प्रस्तुत गरिएको छ । अध्यक्ष ओलीले एमालेमाथि अनेक घेराबन्दी र चुनौती आइपरे पनि पुनः जागरण र सक्रियताबाट देश बनाउने अभिभारा आफूहरूले नै लिने जिकिर गरे । “मुलुकमा अहिले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अनेक खालका समस्या देखिएका छन् । ‘जेनजी’ आन्दोलनमा हामीमाथि घेराबन्दी र आक्रमण गरियो,” पूर्वप्रधानमन्त्री ओलीले भने, “तर हामीले हरेस खाएका छैनौँ । हामी एकताबद्ध र सक्रिय भएर लाग्नुको विकल्प छैन । देश बनाउने काम हामीले नै गर्नुपर्छ । यो भेलाको सन्देश पनि यही हो ।” उनले अब हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा पार्टीलाई फेरि माथि उठाउने गरी नेता–कार्यकर्ता क्रियाशील हुनुपर्ने बताए । विजय हासिल नगरेसम्म आराम गर्न नहुने उल्लेख गर्दै ओलीले देश र जनताका पक्षमा काम गर्दै आएको पार्टीका हैसियतले शान्तिपूर्ण आन्दोलनमा जानुपरे पनि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । भेलाको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनमा पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुँदै गएकोदेखि युवा पुस्तासँग संवादको कमी, डिजिटल उपस्थितिको कमजोरी, कमिटी प्रणालीको प्रभावकारिता र आन्तरिक लोकतन्त्रको अभ्याससम्मका विषयलाई प्रमुख समस्याका रूपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा नयाँ पुस्ताको रोजगारी, उद्यम, गुणस्तरीय शिक्षा, वैदेशिक पलायन, डिजिटल अवसर र राजनीतिक सहभागिताका विषयलाई उनीहरूकै भाषा र माध्यमबाट सम्बोधन गर्न नसकिएको जनाइएको छ । युवालाई परिचालनको साधनमा मात्र सीमित नगरी नीति तथा कार्यक्रम, सङ्गठन निर्माण र नेतृत्व विकासको साझेदार बनाउनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी, पार्टीका विचार, नीति र उपलब्धिलाई तथ्यमा आधारित भएर समयमै जनतासम्म पुर्‍याउन नसक्नु तथा गलत सूचना र एकतर्फी प्रचारको सामना गर्न सञ्चार संयन्त्र पर्याप्त सक्रिय हुन नसक्नुलाई पनि समस्याका रूपमा औँल्याइएको छ । यसका लागि सामाजिक सञ्जाल, डिजिटल सामग्री, तथ्य जाँच, प्रवक्ता प्रणाली र स्थानीय सञ्चार संयन्त्रलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइएको छ । महासचिव पोखरेलले कमिटी प्रणाली, कार्यविभाजन र तहगत जिम्मेवारी स्पष्ट नहुँदा पार्टीका काम निश्चित व्यक्ति र पदाधिकारीमा सीमित भएको उल्लेख गरेका छन् । तल्लो तहका कमिटीले आफ्ना अधिकारअनुसार काम गर्न नसक्ने र सामान्य समस्या पनि माथिल्लो तहमा लैजाने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन् । कमिटीको आकार ठूलो र औपचारिक बन्दै गएको, कतिपय कमिटी निष्क्रिय रहेको तथा बैठक सिर्जनात्मक छलफल र कार्ययोजनाभन्दा औपचारिक अनुमोदनमा सीमित भएको विषय पनि प्रतिवेदनमा समेटिएको छ । कार्यकर्ताको मूल्याङ्कन वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुन नसकेको, अवसर वितरणमा पारदर्शी मापदण्डको अभाव रहेको तथा जिम्मेवारी र अवसरसम्बन्धी असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसकिएको विषयलाई पनि समस्याका रूपमा प्रस्तुत गरिएको छ । पार्टी सदस्यता वितरण र नवीकरणमा सङ्ख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिँदै सदस्यताको अभिलेख पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने सुझाव दिइएको छ । नेतृत्व विकास, पुस्तान्तरण र बहुपदीय संरचनाको अभ्यासमा पनि समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा, सीप तथा प्रविधि ज्ञानलाई जोड्दै सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण र जिम्मेवारी हस्तान्तरणको व्यवस्थित प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ । आन्तरिक लोकतन्त्र, आलोचना–आत्मालोचना र पार्टी अनुशासन कमजोर हुँदै गएको विषय पनि महासचिव पोखरेलले उठाएका छन् । कमिटीभित्र खुला छलफल र स्वस्थ बहसको वातावरण कमजोर भएको, आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्ति बढेको तथा अधिवेशनमा प्रतिस्पर्धापछि परिणाम सहज रूपमा स्वीकार नगर्दा गुटबन्दी र अन्तरविरोध बढ्ने गरेको प्रतिवेदनमा उल्लेख छ । अनुशासनहीनता, स्थायी गुटबन्दी, असहयोग र निर्वाचनमा अन्तर्घातलाई सङ्गठनका गम्भीर चुनौतीका रूपमा प्रस्तुत गर्दै प्रमाणका आधारमा निष्पक्ष छानबिन र समयमै कारबाही गर्नुपर्ने सुझाव दिइएको छ । उम्मेदवार छनोटमा स्थानीय कमिटीको सिफारिस, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी र जनविश्वासलाई पर्याप्त महत्त्व दिन नसकिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ । उम्मेदवार छनोटको स्पष्ट मापदण्ड बनाउन तथा जनप्रतिनिधिले पार्टीको नीति, निर्णय र निर्वाचन घोषणापत्रअनुसार काम गरे–नगरेको आधारमा नियमित समीक्षा गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख छ । सरकारमा रहँदा नीति तथा ठूला पूर्वाधारका कार्यक्रम मात्र नभई जनताले दैनिक सेवा प्रवाहमा सहजता, सम्मान र परिणामको अनुभूति गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक सेवा, जनप्रतिनिधिको कार्यशैली तथा नेता–कार्यकर्ताको आर्थिक र नैतिक आचरणले पार्टीप्रतिको जनविश्वास निर्माण गर्ने उल्लेख गर्दै पारदर्शिता, निष्पक्ष छानबिन र उत्तरदायित्व बढाउनुपर्ने सुझाव दिइएको छ । प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, वैदेशिक श्रम, सहरी गरिबी, मानसिक स्वास्थ्य, महिला सुरक्षा र युवा उद्यमजस्ता नयाँ विषयमा पार्टीको वैचारिक दृष्टिकोण र नीतिगत तयारी आवश्यक रहेको पनि औँल्याएको छ । बदलिँदो समय र जनजीवनका नयाँ प्रश्नअनुसार पार्टीको वैचारिक प्रशिक्षणलाई नियमित र जीवन्त बनाउँदै विचारलाई उत्पादन, रोजगारी, सुशासन र सामाजिक न्यायसँग जोड्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । बन्दसत्रमा पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेलले आ–आफ्ना विषयमा प्रस्तुति गर्नेछन् । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसङ्गठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित करिब तीन हजार पाँच सय प्रतिनिधिको सहभागिता रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपति जेडी भान्सले २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी देलान् ?
OthersJust now

उपराष्ट्रपति जेडी भान्सले २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी देलान् ?

भान्सका योजनाबारे जानकार दुई स्रोतले अमेरिकी समाचार संस्था 'एक्सियोस' लाई बताए अनुसार, उनले आफ्नो राजनीतिक मनसाय सार्वजनिक रूपमा घोषणा गर्न सन् २०२७ को वसन्त ऋतुको अन्त्यसम्म प्रतीक्षा गर्न सक्छन्। ...

अनलाइन खबर
गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी
OthersJust now

गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी

खुला प्रतिस्पर्धा र क्षमताका आधारमा भन्दा पनि राजनीतिक हिसाबले आफू निकटका मानिस व्यवस्थापन गर्ने थलो बनेको खेलकुद परिषद् पछिल्लो कार्यकालमा झनै बदनाम बन्न पुगेको छ । ...

अनलाइन खबर
चेक गणतन्त्रका प्रधानमन्त्रीले नेतान्याहुसँग हात नमिलाएपछि
OthersJust now

चेक गणतन्त्रका प्रधानमन्त्रीले नेतान्याहुसँग हात नमिलाएपछि

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play