काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे हुने खेलमा यि दुई टिमबीच प्रतिस्पर्धा हुने भएको हो । अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीका लागि आजको खेल शीर्ष स्थानमा पुग्ने अवसरका रूपमा रहनेछ । लुम्बिनीले अहिलेसम्म खेलेका ६ खेलमध्ये चारमा जित, एउटामा हार र एउटा खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ । उसले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । काठमान्डु गोर्खाजसँग भने लुम्बिनी पराजित भएको थियो । चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए । यता, अंक तालिकाको पाँचौँ स्थानमा रहेको विराटनगर किंग्सका लागि भने आजको खेल प्लेअफ यात्राका दृष्टिले निकै महत्त्वपूर्ण छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन विराटनगर आज जितको खोजीमा हुनेछ । विराटनगरले ६ खेलमध्ये तीनमा जित र तीनमा हार बेहोरेको छ । उसले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग पराजय भोगेको थियो । आजको प्रतिस्पर्धामा लुम्बिनी शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने दाउमा हुनेछ । त्यसैले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



-ssss.jpg)


