काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले सट्टेबाजीमा संलग्न रहेको आशंकामा सिन्हालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटमार्फत ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ । पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
एनपीएलमा सट्टेबाजी गराएको आरोपमा एकजना पक्राउ, ८९ लाखको कारोबार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




.jpg)

