काठमाडौं । बुधबार विश्राम दिइएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज (बिहीबार) दुई खेल हुने छन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार अन्तर्गत आज दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन् । हालसम्म तीन खेलमध्ये दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी पाँच अंकसहित शीर्ष स्थानमा छ । लगातार तीन खेल नै हारेको पोखरा पुछारमा छ । एनपीएलको तेस्रो संस्करणमा आठ टोली प्रतिस्पर्धामा छन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गरिरहेका छन् । समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । पहिलो क्वालिफायर मंसिर १, इलिमिनेटर मंसिर २, दोस्रो क्वालिफायर मंसिर ३ र फाइनल मंसिर ५ गते हुनेछ । जारी एनपिएलमा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । ११ अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसक्नुभएको छ । यस्तै विराटनगरकै इमरान शेख, आन्द्रे रसेल, काठमाडौं गोर्खाजका राशिद खान, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, चितवन राइनोजका डेभिड मलानले अर्धशतक हिर्काउनुभएको छ । जसमा आन्द्रे, मोइन, हसन, मलानबाहेक सबै नेपाली खेलाडी छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ खेल सम्पन्न हुँदा प्लेयर अफ दी म्याचमा पनि नेपाली खेलाडीकै वर्चश्व देखिएको छ । १३ मध्ये एक खेल वर्षाका कारण रद्द भएकोमा १२ खेल भएका थिए । जसमा आठ नेपाली र चार विदेशीले प्लेयर अफ दी म्याच पाए । आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका खेलाडी प्लेयर अफ दी म्याच चुनिँदै ५० हजार पुरस्कार पाउने गरेका छन् । प्लेयर अफ दी म्याच पाउने नेपाली खेलाडीमा लुम्बिनीका शेर मल्ल,चितवनका कमलसिंह ऐरी, कर्णालीका कप्तान सोमपाल कामी, युनिश विक्रम सिंह, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुरका राहुल यादव, तृतराज दास र काठमाडौंका कप्तान करण केसी रहनुभएको छ । यस्तै विदेशी खेलाडीमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेन, विराटनगरका आन्द्रे रसेल, लुम्बिनीका रुबेन ट्रम्पेलम्यान रहनुभएको छ । रसेल दुई खेलमा प्लेयर अफ दी म्याच हुनुभएको थियो ।
एनपिएलमा आज दुई खेल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_7NaCkd5ckA.jpg)



