काठमाडौं । नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ । नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले विज्ञप्ति जारी गर्दै प्रतियोगिता सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिनुभएको हो । राखेपको अनुमतिसँगै लिग आयोजनाको तयारी थप व्यवस्थित र तीव्ररूपमा अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । एक महिनाअघि घोषणा गरिएको एनएफएलको पहिलो संस्करण आगामी २०८३ फागुन १ गतेदेखि सुरु हुने तालिका छ । प्रतियोगितामा नेपाली घरेलु फुटबलका सात पुराना र तीन नयाँ गरी १० क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगमा देशका विभिन्न १० शहरका क्लब सहभागी हुनेछन् । विभिन्न शहरका क्लबलाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा जोड्दै नेपाली फुटबलको दायरा विस्तार गर्ने तथा देशव्यापीरूपमा फुटबलको माहोल सिर्जना गर्ने आयोजकको लक्ष्य छ । अध्यक्ष गुरुङले नेपाली फुटबललाई व्यावसायिक दिशामा अघि बढाउन समय, लगानी, प्रतिबद्धता र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । चुनौतीका बाबजुद सम्भावनाको खोजी गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ । एनएफएललाई केवल एउटा प्रतियोगिताका रूपमा मात्र नभई नेपाली फुटबलको दिगो व्यावसायिक विकासको आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले बताउनुभएको छ ।
एनएफएल सञ्चालन गर्न राखेपको अनुमति, फागुन १ देखि पहिलो संस्करण

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






