दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । नेकपा (एमाले) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् । एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको राजनीतिक भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले निराश नभई पार्टी सुदृढीकरणमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । “एउटा निर्वाचनमा एमाले पराजित भयो भन्दैमा एमालेको भविष्य सकिएको छैन । पार्टीलाई अझ सशक्त र बलियो बनाएर लैजान्छौँ”, उनले भने, “एमालेलाई जनताको भरोसायोग्य पार्टी बनाउँछौँ । पार्टीसँग रिसाएका जनता र कार्यकर्तालाई फर्काउँछौँ ।” महासचिव पोखरेलले निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । पार्टीप्रति जनताको विश्वास पुनः स्थापित गर्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
एउटा निर्वाचन हार्दैमा एमालेको राजनीतिक भविष्य सकिँदैन -शङ्कर पोखरेल

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






