काठमाडौं । नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदालाई आरोग्य पर्यटनसँग जोड्ने उद्देश्यले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित पर्यटकीय गन्तव्य आमा याङ्ग्र्रीमा गत कात्तिक २७ देखि २९ गतेसम्म योग, ध्यान, साउन्ड हिलिङ र सांस्कृतिक नृत्यसहितको पर्यटन कार्यक्रम आयोजना गरिएको छ । ४१ जनाको सहभागिता रहेको कार्यक्रमले नेपालको आरोग्य पर्यटनको सम्भावना उजागर गर्नुका साथै हिमाली गन्तव्यलाई स्वास्थ्य र आध्यात्मिक अभ्याससँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ । नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजित कार्यक्रमले योग, ध्यान तथा सांस्कृतिक पर्यटनलाई प्राकृतिक गन्तव्यसँग जोड्ने महत्त्वलाई प्राथमिकता दिएको थियो । ‘योगीको यात्राः आरोग्यको खोजी’ नाम दिइएको उक्त कार्यक्रम न्यू भिजन नेपालको आयोजनामा भएको हो । काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोग र हिमालयन वेलनेस फाउण्डेसनको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । न्यू भिजन नेपालका अध्यक्ष योगी अशोक शर्मा भट्टका अनुसार नेपालमा आरोग्य पर्यटनको सम्भावना योग र ध्यान अभ्यासमा मात्र सीमित छैन । हिमाल, प्राकृतिक वातावरण, धार्मिक तथा सांस्कृतिक सम्पदा र मौलिक जीवनशैली एकीकृत गरेर पर्यटकलाई फरक अनुभव दिन सकिने सम्भावना नेपालसँग छ । योग, ध्यान र आरोग्यलाई प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोड्दै पर्यटनका नयाँ सम्भावना विस्तार गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको उहाँको भनाइ थियो । कार्यक्रममा योग तथा ध्यानको अभ्यास भट्टले गराउनुभएको थियो । उहाँले साउन्ड हिलिङ ध्यानको नेतृत्वसमेत गर्नुभएको थियो । यू भिजन नेपालका महासचिव रूपक अर्याल र सदस्य देवन श्रेष्ठले पनि अभ्यासमा सहभागिता जनाउनुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी कोषाध्यक्ष सबनम खड्गीले गर्नुभएको थियो । खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजामती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । राजामती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।न्यू भिजन नेपालका महासचिव अर्यालका अनुसार संस्थाले आरोग्य, आध्यात्मिकता र पर्यटन जोड्दै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले यसअघि सिन्धुपाल्चोककै पाँचपोखरी र रसुवाको गोसाइँकुण्डमा पनि योग, ध्यान तथा आध्यात्मिक पर्यटनसम्बन्धी कार्यक्रम गरेको थियो ।
आमा याङ्ग्रीमा आध्यात्मिक पर्यटन यात्रा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






