नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् । सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भए पनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका हुन् । उनले बंगलादेश र श्रीलंकाका घटनाको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति निर्माण गर्ने तयारी पहिलेदेखि नै रहेको दाबी गरे । उनले आफूलाई घटनाबारे जानकारी हुँदाहुँदै पनि प्रधानमन्त्रीका रूपमा रोकथाम गर्न नसकेको प्रसंग सुनाउँदै भने, “अगाडिदेखिको एउटा प्लानिङ थियो । बङ्गलादेश यत्तिकै भएको होइन, श्रीलङ्का यत्तिकै भएको होइन, श्रीलङ्का बनाइदिन्छु, बङ्गलादेश बनाइदिन्छु अगाडिदेखिको यहाँ तयारी छँदै थियो, नदेखेको पनि होइन ।” ओलीले उक्त प्रसंगलाई आफ्नो व्यक्तिगत पद वा राजनीतिक भविष्यसँग मात्र जोडेर नहेर्न आग्रह गर्दै यसलाई मुलुक र जनताको भविष्यसँग सम्बन्धित विषय भएको बताए । ओलीले आफू प्रधानमन्त्रीबाट पटक–पटक हटाइएको उल्लेख गर्दै संसदीय प्रक्रियाबाट पदमुक्त हुनु र हिंसात्मक गतिविधिबाट हटाइनु फरक विषय भएको बताए । संसदीय प्रक्रियाबाट सरकार परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भए पनि हुल्लडबाजी, हातपात र आगजनीबाट सत्ता परिवर्तन गर्नु लोकतान्त्रिक विधि नभएको उनको भनाइ थियो । उनले निर्वाचनमा पराजित हुनु र हिंसात्मक गतिविधिबाट सत्ता गुमाउनु एउटै नभएको पनि स्पष्ट पारे । तत्कालीन राजनीतिक संकटका बेला आफूले संविधानबाहिर गएर समाधान खोज्न नभई संविधानभित्रैबाट निकास निकाल्न राष्ट्रपतिलाई सुझाव दिएको ओलीले दाबी गरे । उनले आफूले प्रतिनिधि सभा विघटन वा अन्य संवैधानिक कदमका लागि सिफारिस नगरेको र संविधानको पालक तथा रक्षकका रूपमा राष्ट्रपतिले संवैधानिक व्यवस्थाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा राखेको बताए । उनका अनुसार तत्कालीन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संविधानको धारा खोलिदिन आग्रह गरेका थिए । ओलीले त्यसबेला आफूले संविधानमा नभएको व्यवस्था देखाउन नसक्ने जवाफ दिएको बताए ।
आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको केपी ओलीको दाबी

Read Complete Original Article
Published originally on पर्दाफास






