सिख धर्मावलम्बीहरूले आज गुरु नानक देवको जन्मजयन्तीका अवसरमा गुरु नानक जयन्ती मनाउँदैछन् । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन मनाइने यो पर्व सिख धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक हो । सिख धर्मका संस्थापक गुरु नानक देवको जन्म सन् १४६९ मा पाकिस्तानको पञ्जाबस्थित तलवण्डी (हाल ननकाना साहिब) मा भएको मानिन्छ । उनले मानवता, समानता, सत्य, सेवा र धार्मिक सहिष्णुताको सन्देश दिएका थिए । गुरु नानकले जातीय, धार्मिक तथा सामाजिक विभेदको विरोध गर्दै सबै मानिस समान रहेको शिक्षा दिएका थिए । उनले इमानदारीपूर्वक श्रम गर्ने, आफूले कमाएको बाँडेर खाने र ईश्वरको स्मरण गर्ने सिद्धान्तलाई जोड दिएका थिए । जयन्तीका अवसरमा सिख धर्मावलम्बीहरूले गुरुद्वारामा विशेष प्रार्थना, भजन–कीर्तन, धार्मिक प्रवचन तथा शोभायात्रा आयोजना गर्ने गर्दछन् । गुरुद्वाराहरूमा गुरु ग्रन्थ साहिबको पाठ गरिनुका साथै श्रद्धालुहरूलाई लङ्गर अर्थात् सामूहिक भोजनसमेत गराइन्छ । गुरु नानक जयन्तीलाई प्रकाश पर्वका रूपमा पनि मनाइन्छ । यस दिन गुरुद्वारा तथा घरहरूमा दीप प्रज्वलन गरी सजावट गरिन्छ । गुरु नानकका उपदेश स्मरण गर्दै श्रद्धालुहरूले सेवा, सद्भाव, प्रेम र मानव कल्याणको भावना आत्मसात् गर्ने गर्दछन् । गुरु नानकले दिएको समानता, मानवता र आपसी सद्भावको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । उनको शिक्षाले धार्मिक सहिष्णुता र सामाजिक एकताको भावना प्रवद्र्धन गर्न प्रेरित गर्दै आएको छ ।
आज गुरु नानक जयन्ती मनाइँदै

Read Complete Original Article
Published originally on पर्दाफास






