स्पेसएक्सको ३५औँ ड्रागन कार्गो मिसन पृथ्वीमा फर्किएको छ। मानवरहित ड्रागन क्याप्सुल शुक्रबार (नोभेम्बर २०) अमेरिकी पूर्वी समयअनुसार दिउँसो १२:०५ बजे (ग्रिनविच समय १७:०५ बजे) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट छुट्टिएको थियो। त्यतिबेला दुवै यान पश्चिमी चीनमाथि पृथ्वीबाट करिब ४१८ किलोमिटर उचाइमा उडिरहेका थिए। त्यसपछि करिब २९ घण्टाको यात्रा गर्दै ड्रागन क्याप्सुल शनिबार (नोभेम्बर २१) अमेरिकी पूर्वी समयअनुसार साँझ ५:०३ बजे (ग्रिनविच समय २१:५५ बजे) क्यालिफोर्नियाको तटबाट प्रशान्त महासागरमा अवतरण गरेको थियो। ड्रागन क्याप्सुल अक्टोबर १३ मा प्रक्षेपण गरिएको थियो। नासाको कमर्सियल रिसप्लाई सर्भिसेज कार्यक्रमअन्तर्गत स्पेसएक्सले सञ्चालन गरेको यो ३५औँ कार्गो मिसन भएकाले यसलाई सीआरएस–३५ नाम दिइएको थियो। स्पेसएक्सका अनुसार यो क्याप्सुल अक्टोबर १५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेको थियो। यसले अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्षयात्रीका लागि २ हजार ८६० किलोग्रामभन्दा बढी खाद्यान्न, वैज्ञानिक उपकरण र अन्य सामग्री पुर्याएको थियो। पृथ्वीमा फर्किंदा यसले ठूलो परिमाणमा सामग्री पनि ल्याएको छ। नासाका अधिकारीहरूले नोभेम्बर १७ मा जारी गरेको जानकारीमा भनेका थिए, “अन्तरिक्ष स्टेसनबाट हजारौँ पाउन्ड सामग्री पृथ्वीमा फर्किंदै छन्। यसमा भविष्यको अन्तरिक्ष अन्वेषणलाई अघि बढाउन र पृथ्वीमा मानव जीवन सुधार गर्न सहयोग पुर्याउन सक्ने अनुसन्धानका नमुनाहरू पनि छन्।” उनीहरूले थपेका थिए, “फर्काइएका अनुसन्धान सामग्रीमा थ्रीडी बायोप्रिन्टिङ प्रविधिबाट तयार गरिएको रक्तनलीको संरचना पनि छ। वैज्ञानिकहरूले अन्तरिक्ष र पृथ्वीमा रक्तनलीको बुढ्यौली प्रक्रिया तथा मुटुसम्बन्धी रोगको अध्ययन गर्न यसको प्रयोग गरेका थिए।” हाल सञ्चालनमा रहेका कार्गो अन्तरिक्षयानमध्ये ड्रागन मात्रै पृथ्वीमा सामग्री फर्काउन सक्ने क्षमता भएको यान हो। नर्थरोप ग्रुम्यानको सिग्नस, रुसको प्रोग्रेस र जापानको एचटीभी–एक्स भने एकपटक मात्र प्रयोग गर्न मिल्ने यान हुन्। आफ्नो पहिलो तथा एकमात्र अन्तरिक्ष उडान पूरा गरेपछि यी यान पृथ्वीको वायुमण्डलमा प्रवेश गरी जलेर नष्ट हुन्छन्। The post आईएसएसबाट पृथ्वीमा यसरी फर्कियो स्पेसएक्सको ड्रागन कार्गो क्याप्सुल appeared first on Technology Khabar.
आईएसएसबाट पृथ्वीमा यसरी फर्कियो स्पेसएक्सको ड्रागन कार्गो क्याप्सुल

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर





