न्युयोर्क । अमेरिकामा सोमबार हजारौं प्रयोगकर्ताहरुले आफ्नो बैंकको अनलाइन खातामा सञ्चालन गर्न कठिनाई व्यहोर्नुपर्को गुनासो गरेका छन् । मनी ट्रान्सफर सेवा जेली र धेरैवटा प्रमुख बैंकका ग्राहकहरुले यस्तो गुनासो गरेका हुन् । एटिएममा पनि अवरोध देखिएको गुनासो केही ग्राहकहरुले गरेका छन् । अमेरिकी बैंक जेपी मोर्गन चेजले आफ्नो सर्भरमा देखिएको प्राविधिक गडबडीका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ । यो समस्या साइबर आक्रमणका कारण नभएको दाबी पनि गरेको छ । बैंकले सोमबार रातिसम्म बैंकिङ सेवाहरूलाई पूर्ण रूपमा सुचारू गर्नेगरी काम भइरहेको बताएको छ। बैंकका प्रवक्ता जो इभान्जेलिस्टीले भने, ‘जेपिएमर्ग चेजमा अन-प्रिमाइसेस हार्डवेयर प्रणालीभित्रको सफ्टवेयर बगसँग सम्बन्धित अस्थायी समस्या हो । यो साइबरसँग जोडिएको छैन।’ यो अवरोध आउनु भन्दा केही दिन अघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टमा आएको ठूलो आउटेजले आउटलुक, टिम्स र एआई सहायक कोपाइलट जस्ता सेवाहरू प्रभावित पारेको थियो । त्यस्तै, शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा आएको समस्याले गर्दा केही घण्टाका लागि सबै अमेरिकी उडानहरू रोकिएका थिए । यसले शनिबार र आइतबार पनि देशैभर हवाई यात्रामा अवरोध पुगेको थियो। जसकारण स्थानीयहरुले शृंखलावद्ध साइबर आक्रमण भएको हुनसक्ने शंका गरेका छन् । इभान्जेलिस्टी भन्छन्, ‘यो प्राविधिक समस्यामात्रै हो । कुनै प्रणालीगत समस्या वा आक्रमण होइन । हामीसँग कुनै न कुनै रुपमा जोडिएका बैंकहरु मात्रै यसबाट प्रभावित भएका हुन् ।’ सोमबारको प्राविधिक समस्या मुख्यतया चेजका आफ्ना ग्राहकहरू र चेजसँग कारोबार गर्न खोज्ने अन्य बैंकका ग्राहकहरूमा मात्र केन्द्रित रहेको देखिन्थ्यो । बैंक अफ अमेरिका र सिटी ग्रुपलगायतका अन्य बैंकहरूको आफ्नै बैंकिङ सेवाहरूमा भने कुनै समस्या आएको थिएन। यू.एस. बैंकका प्रवक्ताले उनीहरूको प्रणालीमा प्रत्यक्ष प्रभाव नपरेको बताए । तर, मनि ट्रान्सफर जेलीमार्फत पैसा पठाउन वा प्राप्त गर्न खोज्ने ग्राहकहरुले कारोबारमा केही ढिलाइ महसुस गर्न सक्ने जानकारी दिए । जेली पियर-टु-पियर भुक्तानी प्रणाली हो । अमेरिकामा आफ्ना साथीभाई वा परिवारलाई तुरुन्तै पैसा पठाउनुपरेमा यसको प्रयोग गरिन्छ । जेलेको स्वामित्व एरिजोनास्थित अर्ली वार्निङ सर्भिसेजसँग छ । अनि, अर्ली वार्निङ सर्भिसेजको स्वामित्व जेपी मोर्गन चेज, बैंक अफ अमेरिका, क्यापिटल वन,पीएनसी बैंक, ट्रुइस्ट, यू.एस. बैंक र वेल्स फार्गो जस्ता वित्तीय संस्थाहरूसँग छ । अर्ली वार्निङ सर्भिसेजका प्रवक्ताले जेले नेटवर्क पूर्ण रूपमा सञ्चालनमा रहेको दाबी गरेका छन् । प्रवक्ताले भने, ‘वित्तीय संस्थाहरूमा देखिएको समस्याका कारण केही ग्राहकहरूको जेले भुक्तानीमा ढिलाइ भएको हुन सक्छ। तर यो सञ्चालनमै छ ।’ सोमबार जेपी मोर्गन चेजका केही ग्राहकहरुले यस्तो सन्देश प्राप्त गरेका थिए, ‘केही सेवाहरू उपलब्ध छैनन्। हामी यसमा काम गरिरहेछौं। कृपया पछि फेरि प्रयास गर्नुहोस्।’ एपी
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






