काबुल । अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । प्रान्तीय संस्कृति तथा सूचना निर्देशक सामी उल हक बयानले विस्फोट विद्यालय नजिकै रहेको विस्फोटक पदार्थ भण्डारण केन्द्रबाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् । उनका अनुसार उक्त केन्द्र खानी कम्पनीहरूको विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग हुँदै आएको थियो । विस्फोटको कारण भण्डारण केन्द्रमा भएको लापरबाही हुन सक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ । घाइतेमध्ये १५ जनासम्म अस्पतालमा उपचाररत रहेको र अन्य उपचारपछि घर फर्किएको उनले जानकारी दिए । यसअघि कुनार प्रान्तीय प्रहरी मुख्यालयका प्रवक्ता फरीद देहकानले असदाबादको बाहिरी क्षेत्रमा पर्ने अन्दर सेर क्षेत्रमा रहेको विद्यालयमा बिहान १० बजे विस्फोट भएको बताएका थिए । गत अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय परिसरमा भएको हातबम आक्रमणमा नौदेखि १४ वर्ष उमेर समूहका ४० भन्दा बढी बालबालिका घाइते भएका थिए ।
अफगानिस्तानको विद्यालयमा विस्फोट हुँदा सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






