Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अपी हिमालः जहाँ प्रकृति बोल्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अपी हिमालः जहाँ प्रकृति बोल्छ
Photo / Coverage: केन्द्रबिन्दु

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन, हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल। प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएका छन्। अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट ७ हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो। ३ हजार ९०० मिटर उचाइमा अवस्थित आधार शिविर क्षेत्रबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट नियाल्न सकिन्छ। विशाल पाटन, निलो ताल, हिमनदीबाट निसृत जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता अझ थपेका छन्। यहाँ पुग्नु आफैँमा रोमाञ्चक यात्रा हो। मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिनको पदयात्रा गर्नुपर्छ। कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्दा यात्रीले हिमाली भूगोलका विविध रूप देख्न पाउँछन्। लामो बाटो पार गरेर आधार शिविर पुग्दा यात्राको थकान हिमालको मनमोहक दृश्यमा हराउँछ। कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन्। प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलले पर्यटकीय सम्भावना अझ बढाएका छन्। गर्मीयाममा रङ्गीचङ्गी फूलले ढाकिने पाटन पर्यटकका लागि मात्र होइन, स्थानीयको जीविकोपार्जनका लागि पनि महत्त्वपूर्ण छ। यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी, जटामसीलगायत बहुमूल्य जडीबुटी सङ्कलन गरिन्छ। भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा यो क्षेत्र परिचित छ। अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा यस क्षेत्रलाई आधुनिक पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजनामा छन्। पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको विश्वास छ। सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उनले बताए। यसका लागि आवश्यक जनशक्तिलाई पटक–पटक तालिम दिइएको छ। “हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,” अध्यक्ष बोहराले भने। चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ। “अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ,” उनले भने। उनका अनुसार अहिलेको मुख्य समस्या सञ्चार ‘नेटवर्क’ र ‘इन्टरनेट’ को हो। अन्य पूर्वाधार तयार भइसकेको उनको दाबी छ। “यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो। आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन। अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ। थप आवश्यकता अनुसार पूर्वाधार थपिन्छ,” उनले भने। अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान उत्तिकै महत्त्वपूर्ण छन्। गैरा इको रिसोर्ट, घुसाका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउँछन्। गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा थप सहज भएको उनको भनाइ छ। गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्मका विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ। धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ। त्यसपछि आधार शिविर क्षेत्रमा पुग्ने पाहुनाका लागि दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्ट व्यवस्थित गरिएको छ। व्यक्तिगत रूपमा टेन्ट बोकेर जानेलाई पनि असहज हुँदैन। मकरीगाडबाट आधार शिविरसम्म ३४ किलोमिटरको दूरी भए पनि तीनदेखि पाँच किलोमिटरको अन्तरमा बनाइएका होमस्टेले यात्रीलाई सहज बनाएको छ। स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता हुन्। हरेक होमस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने परम्पराले पाहुनालाई आकर्षित गर्छ। दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गरिन्। “सुरुमै फूलमालाले स्वागत गरिन्छ। सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ। बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन। त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो। यही सम्पत्तिले पर्यटकलाई अपी हिमाल नजिक्याउँछ,” उनले भनिन्। पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पुर्याीउन सकिने उनको विश्वास छ। गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार गाउँपालिकाले आधार शिविरसम्म भरपर्दो सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपत्कालीन उद्धार प्रणाली विकासको काम गरिरहेको छ। अपी हिमाल धार्मिक आस्थाको केन्द्र पनि हो। यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान् शिवको शिरबाट प्रवाहित गङ्गाको स्वरूप मान्ने जनविश्वास छ। खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन्। शिरमा शिव भएकै कारण स्थानीय मन्दिरमा पनि आध्यात्मिक महत्त्व थपेको उनको बुझाइ छ। अपी हिमाल प्रकृतिको उपहार मात्र नभएर आस्थाको प्रतीक भएको उनले बताए। हिमालको काखमा जलवायु सङ्कट अपी हिमालको सौन्दर्यसँगै यसको भविष्यप्रति चिन्ता पनि बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम तीव्र बनेको छ भने पानीका मुहान सुक्न थालेका छन्। वर्षा चक्रमा आएको फेरबदलले परम्परागत जीविकोपार्जन प्रभावित हुन थालेको छ। एकातिर यस क्षेत्रलाई विश्व पर्यटनको नक्सामा स्थापित गर्ने अवसर छ भने अर्कातर्फ जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र स्थानीय जीवनमा जोखिम थपिरहेको छ। यही चुनौतीलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटन प्रवर्द्धनसँगै वातावरण संरक्षणको अभियान अघि बढाएको छ। नेपाल हिमालय विश्वको तेस्रो ध्रुव (थर्ड पोल) का रूपमा चिनिन्छ। यहाँका हिमनदी, हिमताल, नदी, वन, घाँसेमैदान र सिमसारले दक्षिण एसियाका करोडौँ मानिसको जीवनलाई आधार दिएका छन्। तर विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। हिमताल विस्फोटको जोखिम बढेको छ। पानीका मुहान सुक्ने, कृषि प्रणाली प्रभावित हुने र जैविक विविधता घट्ने समस्या देखिन थालेका छन्। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा वातावरणविद् डा. रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको प्रभाव अपी हिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ। वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीय जीवनशैली प्रभावित भएको उनी बताउँछन्। यसको असर हिमालको हिउँमा मात्र सीमित छैन, स्थानीयको भान्सा, गोठ र खेतबारीसम्म पुगेको छ। भेडापालन, चौँरीपालन, कृषि र जडीबुटी सङ्कलनमा निर्भर परिवारका लागि बदलिँदो मौसम थप चुनौती बनेको उनले बताए। डा. पन्तका अनुसार जलवायु सङ्कटले सबैलाई समान असर गर्दैन। न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन्। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको उनले बताए। चमेलिया जलाधार: संरक्षणको साझा जिम्मेवारी करिब सात सयदेखि सात हजार मिटर (अपी हिमाल) उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्र भौगोलिक र पारिस्थितिक विविधताका दृष्टिले महत्त्वपूर्ण छ। वातावरणविद् डा. पन्तका अनुसार उपलब्ध अध्ययनले यहाँको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार सात सय मिलिमिटर र औसत जलप्रवाह १७७ घनमिटर प्रतिसेकेन्ड देखाएको छ। जसले गर्दा माथिल्लो र तल्लो तटीय क्षेत्रमा कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको उनी बताउँछन्। चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायतका क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको पनि अनुसन्धानले देखाएको छ। सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको डा. पन्तले बताए। यी तथ्यले जलाधार संरक्षण कुनै एक पालिकाको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्छ। यसमा अन्तरपालिका, प्रदेश र सङ्घीय सरकारको साझा भूमिका आवश्यक रहेको उनले बताए। नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन गर्नुपर्ने देखिन्छ। सुक्दै गएका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण र वर्षाको पानी सङ्कलनसँगै समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भूगर्भविद् कमल थापा बताउँछन्। अपिनाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आश्रयस्थल हो। रेडपाण्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति यहाँ पाइन्छन्। विभिन्न प्रकारका बहुमूल्य जडीबुटी उपलब्ध छन्। जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमा चुनौती थपेको थापा बताउँछन्। हिमालको भविष्य जोगाउने साझा सङ्कल्प अपी हिमालमा पर्यटनको ठूलो सम्भावना छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र हिमाली जीवनशैलीलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र नेपालको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने भूगर्भविद् थापा बताउँछन्। प्रकृति जोगिएन भने पर्यटनको भविष्य पनि सुरक्षित हुँदैन। त्यसैले विकासलाई सडक, होटल र पर्यटकको सङ्ख्यामा मात्र सीमित गर्न नहुने उनको धारणा छ। उनी भन्छन्, “हिमाल, जलस्रोत, जैविक विविधता र स्थानीय समुदायको जीवनशैली संरक्षणलाई विकासको केन्द्रमा राख्नुपर्छ।” आधार शिविरबाट उठेको जलवायु संवादले हिमाली सङ्कट स्थानीय समुदायको मात्र समस्या नभएको सन्देश दिएको छ। हिमालमा परेको असर नदी हुँदै बस्ती, खेतबारी र मानव जीवनसम्म पुग्छ। त्यसैले यसको संरक्षणमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य आवश्यक रहेको थापाले बताए। हिमालबाट उठेको जलवायु न्यायको आवाज आधार शिविर क्षेत्रमा अपी हिमाल गाउँपालिकाले आयोजना गरेको अपी हिमाल पर्यटन उत्सव तथा जलवायु संवादमा ‘अपी हिमाल घोषणापत्र–२०८३’ जारी गरिएको छ। चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु यसको मुख्य उद्देश्य थियो। घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनर्स्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवर्द्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन्। यसले हिमाली क्षेत्रका समस्या स्थानीय सीमाभित्र मात्र सीमित नरहेको सन्देश दिएको छ। घोषणापत्रले वन, भूमि, पानी, जडीबुटी र चरन क्षेत्रको वैज्ञानिक तथा न्यायोचित उपयोगमा जोड दिएको छ। परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखी हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल जोगाउने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ। पर्यटन, खेलकुद र अन्तर्राष्ट्रिय पहिचान अपी हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अर्को आधार उच्च हिमाली खेलकुद हो। गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उच्च उचाइमा खेलकुद आयोजना गर्न सके स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेल पर्यटनको विकास र क्षेत्रीय पहिचान विस्तारमा सहयोग पुग्न सक्ने विश्वासले खेल आयोजना गरिएको अपी हिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले बताए। प्राकृतिक सौन्दर्य र उच्च हिमाली वातावरणलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपी हिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उनको बुझाइ छ। प्रकृतिले दिएको अनुपम सम्पदा जोगाउँदै स्थानीय संस्कृति र जीविकोपार्जनलाई पर्यटनसँग जोड्ने अपी हिमालको सपना भएको उनले बताए। हिमाललाई केवल पर्यटकीय आकर्षणका रूपमा मात्र नभई जीवन, सभ्यता, जलस्रोत र जैविक विविधताको आधारका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा लगानी विस्तार गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह
Latest NewsJust now

नेपालमा लगानी विस्तार गर्न भारतीय निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालको उत्पादन र रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत व्यापार मञ्च’ (नेपाल–इन्डिया बिजनेस फोरम) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका प्रशस्त अवसरहरू रहेको बताए । सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास ...

टक्सार
अपी हिमाल: जहाँ प्रकृति बोल्छ
Latest NewsJust now

अपी हिमाल: जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement