अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आफ्नै भवन निर्माण तथा खरिद गर्ने लामो समयदेखिको सपना साकार भएको छ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससमा खरिद गरिएको अनेसासको भवनको नोभेम्बर १४, २०२६ मा विशेष समारोहबीच विधिवत् उद्घाटन गरिएको हो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रष्टी (बीओटी)का सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी तथा भवन खरिदका लागि ऋणको ग्यारेन्टी प्रदान गर्ने बीओटी सचिव नारायण अधिकारी र कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले संयुक्तरूपमा रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो । अनेसासको संस्थागत इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको भवन खरिदले संस्थाका आगामी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रममा भवन खरिद समितिका संयोजक पुरु सुवेदीले भवन खरिद तथा ऋण व्यवस्थापन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । समारोहमा बोल्ने वक्ताहरूले अनेसासको आफ्नै भवन प्राप्ति भौतिक संरचनाको उपलब्धिमा मात्र सीमित नरही प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । उनीहरूले यस भवनलाई साहित्यिक गतिविधि, सिर्जना, विमर्श र नेपाली भाषा-संस्कृतिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने साझा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, ट्रष्टी, आजीवन सदस्य, विभिन्न अमेरिकी राज्यबाट आएका साहित्यकार, समाजसेवी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । सो अवसरमा सदस्यहरूबाट आर्थिक सहयोग जुट्ने तथा नयाँ आजीवन र ट्रष्टी सदस्यता थपिने क्रमसमेत जारी रहेको आयोजकले जनाएको छ । भवन उद्घाटन समारोहसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि साहित्यिक कार्यक्रमसहित मनाइएको थियो । देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै नेपाली भाषा र साहित्यको उन्नयनमा प्रवासी नेपाली समुदायको भूमिकाबारे चर्चा गरिएको थियो ।अनेसासको आफ्नै भवन प्राप्तिलाई प्रवासमा नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानको संस्थागत संरक्षणका दिशामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । यसले भावी पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको आकर्षण तथा अपनत्व अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अनेसासको आफ्नै भवन उद्घाटन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






